२०८३, कार्तिक १२ गते बिहीबार

गङ्गा खोलाको संरक्षण गरिँदै

गङ्गा खोलाको संरक्षण गरिँदै


  • मेरोभ्यूज
  • बैशाख १८, २०८२ बिहीबार

  • गङ्गा खोलाको संरक्षण गरिँदै

    भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिका–६ स्थित प्रसिद्ध ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल गङ्गा खोलाको संरक्षण थालिएको छ ।

    गोल्मे राज, गोल्मे रानी भिरको काखमा रहेको यो स्थलको संरक्षणमा वडा कार्यालयसँगै स्थानीय नागरिक जुटेका हुन् ।

    ढुङ्गाको कापबाट उम्रिएका तीनवटा पानीका ठूला मुहान रहेको यो स्थानमा दर्शन गरेर मनोकाङ्क्षा सिद्ध हुने धार्मिक विश्वासले भक्तजन आउने स्थानीयवासी राजेन्द्र राईले जानकारी दिए ।

    देशले नै चिन्नुपर्ने अनौठो प्रकृतिको धार्मिक तथा पर्यटकीयस्थल रहेको भए पनि प्रचार अभावमा ओझेलमा परेको उनको भनाइ छ ।

    यहाँको पानीले नुहाएमा सबै खालका छालाको रोग निको हुने तथा कुनै पनि पुण्यकर्ममा चढाउने चलन रहेको उनले जानकारी दिए । यहाँ माघे सङ्क्रान्तिमा भव्य मेला लाग्ने गरेको उनको भनाइ छ ।

    “गङ्गा खोला देशले चिन्नुपर्ने ऐतिहासिक धार्मिकस्थल हो”, उनले भने, “गोल्मे राजा, गोल्मे रानी भिरको काखमा रहेको यो स्थान प्रचार-प्रसार तथा संरक्षण अभावमा ओझेल परेको छ । यो स्थानको धेरै विषेशतासँगै पौराणिक महत्व छ ।

    भौगोलिक विकटताका कारण यो क्षेत्रको विकासमा बाधा पुगेको अवस्था छ । राज्यले यस्ता देशका सम्पत्तिको खोजी गरेर संरक्षणमा जोड दिन आवश्यक छ ।”

    गङ्गा खोलाका सबै मुहान कहिले नसुक्ने, वर्षातको समयमा धमिलो नहुने तथा मुहान दक्षिणबाट उत्तरतर्फ बगेकाले यसको छुट्टै महत्व रहेको वडाध्यक्ष एकराज आचार्यले बताए ।

    यो क्षेत्रको विकासका लागि धेरै बजेट आवश्यक पर्ने भए पनि वडाले केही बजेट विनियोजन गरेर संरक्षणको काम गरिरहेको उनको भनाइ छ ।

    वडाले बजेट विनियोजन गरेर आउने भक्तजनलाई लक्षित गरेर धारा निर्माण गरिदिएको वडाध्यक्ष आचार्यले बताए ।

    यहाँ धेरै संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले राज्यका अन्य निकायसँग पनि हारगुहार गरिएको उनले बताए । मुख्यरूपमा मुहान भएको स्थानसम्म पुग्ने पदमार्गको आवश्यकता रहेको उनको भनाइ छ ।

    स्थानीय सरकार, केन्द्र सरकार तथा प्रदेश सरकारले यो स्थानको विकासमा पहलकदमी गर्न आवश्यक रहेको स्थानीयवासी पाण्डव राईले बताए ।

    यो क्षेत्रको विकास गरेर गाउँपालिकाको दिगो आम्दानीको स्रोतका रूपमा स्थापित गर्नुपर्ने उनको भनाइ छ ।

    “गङ्गा खोला एउटा अनौठो र आश्चर्य खालको पवित्र धार्मिकस्थल हो”, उनले भने, “यो स्थानको स्थलगत अनुगमन गर्दा साँच्चै नै प्रकृतिको अनौठोस्वरुप देख्न सकिन्छ । यहाँको भूबनोटले सबैलाई चकित बनाउँछ । तर यस्तो ठाउँको अहिलेसम्म संरक्षणसँगै प्रचार-प्रसार हुनसकेको छैन ।”


    प्रकाशित : बिहीबार , बैशाख १८ २०८२०८:३९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार