२०८३, कार्तिक १३ गते शुक्रबार

स्तरोन्नती गरिएको प्राकृतिक पोखरी सुक्यो

स्तरोन्नती गरिएको प्राकृतिक पोखरी सुक्यो


  • मेरोभ्यूज
  • जेठ २, २०८२ शुक्रबार

  • स्तरोन्नती गरिएको प्राकृतिक पोखरी सुक्यो

    खोटाङ । खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरीमा अवस्थित पर्यटकीयस्थल ‘इन्द्रेणीपोखरी’ स्तरोन्नतिका लागि रु. दुई करोडभन्दा बढी लगानी गएिको थियो ।

    बाह्रै महिना टम्म पानी जम्ने ईन्द्रेणीपोखरीलाई स्तरोन्नती गरेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित सङ्घ, प्रदेश र स्थानीय तहले रु. दुई करोड १२ लाखभन्दा बढी रकम खर्च गरेका हुन् ।

    परापूर्वकालमा ईन्द्रले बाण हानेपछि उम्रिएको पानी जमेर पोखरी बनेको भन्ने पौराणिक कथन छ । प्राकृतिकरूपमै पर्यटकीयस्थल रहेको यस पोखरीको चौतर्फी विकास गर्न स्तरोन्नतिको काम थालियो ।

    यस कार्यले पोखरीलाई थप सुन्दर तथा मनमोहक बनाउँदै पर्यटक भित्र्याउन सघाउ पुग्ने भनेर स्थानीयवासी हर्षित भएका थिए ।

    त्यसविपरीत प्राकृतिकरूपमा बनेको पोखरीको भुइँमा सिमेन्ट र बालुवा प्रयोग गरेर ढलान गरेपछि वर्षौंदेखि जम्मा भएको पानीसमेत सुकेको छ । यसले स्थानीयको खुसी धेरै टिक्न सकेन ।

    यो पोखरी वर्षौंदेखि जलहाँस तथा मलेवाको क्रिडास्थल (खेल्ने ठाउँ) थियो । हरेक नयाँ वर्षको दिन बृहत् मेला लाग्ने गर्दछ ।

    समुद्री सतहदेखि एक हजार सात सय मिटर उचाइमा रहेको प्राकृतिक पोखरी (ईन्द्रेणीपोखरी)को स्तरोन्नती गर्न भुइँ ढलान, बाल उद्यान निर्माण, पानीको फोहोरा निर्माण तथा पोखरी संरक्षणका लागि घेराबार निर्माण गरिएको छ ।

    ईन्द्रेणीपोखरीका नाममा रहेको करिब २१ रोपनी सार्वजनिक जग्गामा ४८ मिटर लम्बाइ र २६ मिटर चौडाइको कृत्रिम पोखरीसमेत बनाइएको छ ।

    पर्यटन प्रवर्द्धन गरेर आम्दानी वृद्धि गर्ने उद्देश्यले स्तरोन्नती गरिएको पोखरीमाथि ईन्द्रेणीको स्वरुप देखाउन फलामको पाता प्रयोग गरेर ईन्द्रेणीको आकृतिसमेत बनाइएको छ ।

    राज्यकोषको रु. वीस लाख रकम खर्चेर बनाइएको सो ईन्द्रेणीको आकृति पनि गत वर्षको हावाहुरीले ढाल्यो र पुनः राखियो ।

    फरक–फरक समयमा फरक–फरक शीर्षकमा गाउँपालिकाबाट ईन्द्रेणीपोखरीको स्तरोन्नती गर्ने योजना बनाएर उपभोक्ता समितिमार्फत काम गरिएको हो ।

    पोखरीको स्तरोन्नतिका लागि प्रदेश सरकारको रु. ४० लाख, तत्कालीन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको संसदीय विकास कोषबाट रु. २० लाख गाउँपालिकाको रु. एक करोड ५२ लाखभन्दा बढी बजेट खर्च भएको छ ।

    विश्वको सर्वोच्च शिखर सगरमाथा, उच्च हिमाली शृङ्खला तथा तराईका फाँटहरु अवलोकन गर्न सकिने ठाउँमा अवस्थित ईन्द्रेणीपोखरीको स्तरोन्नतिपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको थियो ।

    स्तरोन्नतिको काम गरिएसँगै उल्टै पोखरीको पानी सुकेपछि स्थानीयवासी निराश बनेका छन् ।

    प्राकृतिक संचनालाई स्तरोन्नती गर्ने क्रममा सावधानी नअपनाइएकाले समस्या सिर्जना भएको स्थानीय ईन्द्र नारथुङ्गेले गुनासो गरे ।

    “राज्य कोषको लगानीमा निर्माण हुने संरचनालाई गुणस्तरीय र उपयोगी बनाउन सबैले चासो दिन जरुरी छ ।

    ईन्द्रेणीपोखरीको स्तरोन्नती गर्दा सावधानी अपनाउन सकिएन”, उनले भने, “बिनाअध्ययन यहाँ संरचना निर्माण गर्दा प्राकृतिक पोखरीको पानी नै सुकेको छ । यसले पोखरीको ऐतिहासिकता नै सङ्कटमा परेको छ ।”

    ईन्द्रेणीपोखरीबाट धार्मिक तथा पर्यटकीयस्थल बरापोखरी, उत्तरपूर्वी क्षेत्रमा पर्ने ट्याम्के, सोलढुङ्गा, कपासे तथा रोक्सिम भञ्ज्याङलगायत पर्यटकीयस्थलहरू जोड्न सडकमार्गसमेत निर्माण गरिएको छ ।

    राष्ट्रिय सडक सञ्जालसँग जोडिएको ईन्द्रेणीपोखरीमा बाहै्र महिना वनभोज खाने र दृश्यावलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकामा पोखरीको पानी नै सुकेपछि समस्या भएको स्थानीयले बताएका छन् ।

    पर्यटन प्रवर्द्धनका लागि सङ्घ, प्रदेश र स्थानीय तहको ठूलो लगानी भए पनि पानी सुकेपछि लामो समयदेखि उपयोगविहीन भएको गाउँपालिका प्रमुख उदिमबहादुर राईले बताए ।

    “ईन्द्रेणीपोखरीमा कुनै पनि मुहान छैन । प्राकृतिकरूपमा बनेको पोखरीमा पानी सुकेपछि स्तरोन्नती गर्ने क्रममा गरिएको ढलानसमेत चिरा–चिरा भएर फुटेको छ । अन्यत्रबाट पानी ल्याएर लगाउने सम्भावना पनि छैन”, उनले भने ।

    दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहहरुले पनि आ–आफ्नो क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थलहरूको स्तरोन्नती गरिरहेका छन् ।

    हलेसी, बराहपोखरी, टेम्के, जन्तेढुङ्गा, तावाभञ्ज्याङ, रुपाकोट, मझुवागढी, भुलभुलेलगायत धार्मिक तथा पर्यटकीयस्थलहरू स्तरोन्नतिको काम सुरु गरिएको छ । त्यहाँ पनि सतर्कता अपनाउन समयमै ध्यान दिनुपर्ने सरोकार भएकाहरूको आग्रह छ ।


    प्रकाशित : शुक्रबार, जेठ २ २०८२०९:०१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार