२०८३, कार्तिक ११ गते बुधबार

पर्यटकको रोजाइमा विचित्र गुफा

पर्यटकको रोजाइमा विचित्र गुफा


  • मेरोभ्यूज
  • जेठ ४, २०८२ आइतबार

  • पर्यटकको रोजाइमा विचित्र गुफा

    गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ स्थित विचित्र गुफा यतिबेला आन्तरिक एवं वाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जिल्ला सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा विचित्र गुफा रहेको छ ।

    वि.सं. २०४५ मा बाँदर लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलो पटक उक्त गुफा पत्ता लगाएका थिए । पहिले विचित्र गुफा हेर्न आन्तरिक पर्यटक मात्र पुग्ने गर्दथे । पछिल्लो समय विदेशमा पनि विचित्र गुफाको प्रचार-प्रसार हुन थालेपछि विदेशी पर्यटकसमेत आउन थालेका छन् ।

    हाल फ्रान्स, जर्मनी र बेलायतका पर्यटक गुफा हेर्न आउने गरेको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए ।

    धेरै विदेशी नागरिक अरबिन्द्र आश्रममा योग साधनाका लागि आउने गरेको र सोही अवसरमा गुफाको अवलोकन गरेर फर्कने गरेको उनले बताए ।

    उक्त गुफा एक सय ८५ मिटर लम्बाई र तीन सय ५० मिटर चौडाइमा फैलिएको छ । स्थानीय जनार्दन भण्डारीले बारीमा मकै खान आएका बाँदर लखेट्ने क्रममा बाँदर एकाएक पहरा (चट्टान)को बीचमा रहेको सानो प्वालबाट भित्र पसेपछि त्यहाँ गुफा रहेको पत्ता लगाएको स्थानीय युवराज भण्डारीले बताए ।

    गुफाको मुख्य प्रवेशद्वारबाट भित्र भित्तामा देखिने विभिन्न आकृतिले जो कोहिको पनि ध्यान केन्द्रित गर्ने गरेको छ ।

    गुफाको मुख्य आकर्षण भनेको ‘स्वर्ग जाने बाटो’ हो । ‘स्वर्ग जाने बाटो’ पुगेपछि गुफाको गन्तव्य टुङ्गिन्छ । स्वर्ग जाने बाटोमा धर्मात्मा मात्र भित्र पस्न सक्छन भन्ने मान्यता छ ।

    स्वर्ग जाने बाटो एकदमै साँगुरो छ र त्यहाँ स्पष्ट देख्न सकिने एउटा दृष्य हात्तीको भीमकाय शरीर हो । त्यहाँ प्राकृतिकरूपमा हात्तीको शरीर, पुच्छर र सुँड स्पष्ट रूपमा देख्न सकिन्छ ।

    जो मानिस त्यहाँभित्र छिर्न सक्छ उसले आफूलाई भाग्यमानी ठान्दछ । गुफा क्षेत्रको विकासका लागि हालसम्म धुर्कोट गाउँपालिका, प्रदेश र सङ्घबाट गरी रु. दुई करोड बढी लगानी भइसकेको गाउँपालिकाका अध्यक्ष पोख्रेलले जानकारी दिए ।

    सदरमुकाम तम्घासबाट १८ किलोमटरको दूरीमा रहेको उक्त गुफामा पुग्न यातायात र पैदल मार्ग दुवै रहेको छ ।


    प्रकाशित : आइतबार, जेठ ४ २०८२११:०६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार