काठमाडौँ । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र मुस्ताङको कागबेनी क्षेत्र र त्यहाँको गुम्बा संस्कृति झल्कने एकल फोटो प्रदर्शनी आयोजना गरिएको छ ।
फोटो पत्रकार कर्चुङ गुरुण (टासी)ले यहाँस्थित लाजिम्पाटमा बुधबारदेखि तस्विर प्रदर्शनी सुरु गरेको हो ।
कागबेनीस्थित छ सय वर्ष पुरानो ‘काग छोदे गुम्बा’ को विभिन्न पक्षलाई र मुस्ताङ क्षेत्रका तस्विरहरू यहाँ प्रदर्शन गरिएका छन् ।
भिक्षु बनेपछि टासीले फोटोग्राफी सुरु गरेको हो । उक्त क्षेत्रको नयाँ वृत्तचित्र निर्माणका क्रममा टासीले विभिन्न मुभमेन्टको फोटो खिचेको छ । भिछु जीवनको आनन्दसँग फोटोग्राफीको कला प्रस्तुत गरिएको छ ।
पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा एकैस्थलका दस वटा फोटो प्रदर्शनीमा राखिएका छन् । गुम्बाका शिक्षकसमेत रहेका टासीले आफू हुर्केको र शिक्षा लिएको विभिन्न क्षणलाई तस्विरमार्फत उजागर गरेको बताए । भिक्षु लामाहरूलाई फोटोग्राफीप्रति प्रेरित गर्न फोटो प्रदर्शनी गरिएको उनको भनाइ छ ।

