२०८३, कार्तिक १३ गते शुक्रबार

मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे


  • मेरोभ्यूज
  • जेठ १३, २०८२ मंगलबार

  • मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

    मुस्ताङ । मुस्ताङमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका कार्यालयका वि.सं. २०८० को तुलनामा २०८१ सालमा यहाँ आउने विदेशी पर्यटक करिब ५० प्रतिशतले बढेका छन् ।

    वि.सं. २०८० मा कूल ९६ हजार छ सय ४५ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएकामा २०८१ सालमा ४९ दशमलव ७६ प्रतिशतले बढेर एक लाख ४४ हजार सात सय ४५ जना पुगेको एक्याप जोमसोम कार्यालयका प्रमुख राजेशप्रसाद गुप्तले जानकारी दिए ।

    एक्यापका अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष सार्क राष्ट्रका पर्यटकको आगमन ५३ दशमलव ७१ प्रतिशतले बढी छ ।

    गत वर्ष सार्क राष्ट्रबाट एक लाख १७ हजार छ सय १४ जना र अन्य मुलुकका २७ हजार एक सय ३१ जना पर्यटकले मुस्ताङ भ्रमण गरेको कार्यालयको भनाइ छ ।

    कार्यालयका अनुसार २०८१ वैशाखमा वीस हजार आठ सय नौ, जेठमा २८ हजार आठ सय ५६, असारमा आठ हजार एक सय ८७, साउनमा तीन हजार पाच सय ५८, भदौमा छ हजार छ सय ७९, असोजमा १३ हजार दुई सय १६, कात्तिकमा १४ हजार पाच सय ७८ र मङ्सिरमा सात हजार पाच सय ५३ जना विदेशी पर्यटक मुस्ताङ आएका छन् ।

    साथै पुसमा छ हजार नौ सय ७५, माघमा तीन हजार पाच सय १७, फागुनमा नौ हजार तीन सय २६ र चैतमा २१ हजार चार सय ९१ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । कार्यालयका अनुसार गत वर्ष कूल ७२ राष्ट्रका पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् ।

    कार्यालय प्रमुख गुप्ताका अनुसार मुस्ताङ आउने सार्क राष्ट्रतर्फ ८० प्रतिशत भारतीय पर्यटक हुने गरेका छन् । उनीहरु विशेष गरी मुक्तिनाथ दर्शन गर्न आउँछन् ।

    एक्याप जोमसोमका अनुसार वि.सं. २०८० सालमा ९६ हजार छ सय ४५ जना विदेशी पयटकले मुस्ताङको भ्रमण गर्दा सार्क राष्ट्रतर्फ ७६ हजार पाच सय १६ जना र अन्य विदेशी पर्यटकतर्फ वीस हजार एक सय २९ थिए ।

    केही वर्षयता राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडकमार्ग सहज भएसँगै मुस्ताङ आउने आन्तरिक र बाह्य पर्यटकको उल्लेख्य वृद्धि भइरहेको एक्यापको भनाइ छ ।

    कार्यालयका अनुसार मुस्ताङ आउने एक चौथाई विदेशी पर्यटक अन्नपूर्ण चक्रिय पदमार्ग हुँदै आएका छन् । साथै लमजुङको बेसी सहरदेखि मनाङ हुँदै मुस्ताङ भित्रिने पर्यटकको सख्यामा समेत वृद्धि भइरहेको छ ।

    मुस्ताङबाट दृष्यावलोकन गर्न सकिने निलगिरि र धौलागिरि हिमालको मनमोहक दृष्य एवं यहाँका प्राकृतिक तथा जैविक विविधता अवलोकन गर्न विदेशी पर्यटक आउने गरेका छन् ।

    कालिगण्डकी नदीको तटीय क्षेत्र, यहाँका पृथक भूगोल तथा प्राकृतिक सौन्दर्यताका कारण पर्यटक आउने गरेका छन् । यहाँका गुम्बा, माने, छोर्तेन र स्तुप पर्यटकीय आर्कषण हुन् ।

    उपल्लो मुस्ताङमा मुस्ताङी राजाको ऐतिहासिक राजदरबार, लोघेकर (घर) गुम्बा, छोसेर गुफा, चिउसी गुफा, लुरी गुम्बा, दामोदरकुण्ड धार्मिकस्थललगायतका पर्यटकीय सम्पदा विद्यमान छन् ।

    यस्तै प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ, कागबेनीधाम, ढुम्बाताल, स्याउको राजधानी एवं सांस्कृतिक गाउँ मार्फा, गुरुसाङ्वो गुफा, टिटी ताल र सेकुङ ताल लगायतका पर्यटकीय गन्तव्य भएकै कारण मुस्ताङमा पर्यटक आगमनदर बढ्दो छ ।


    प्रकाशित : मंगलबार, जेठ १३ २०८२११:००
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार