२०८३, कार्तिक १३ गते शुक्रबार

छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन

छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन


  • मेरोभ्यूज
  • जेठ १७, २०८२ शनिबार

  • छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन

    तनहुँ । जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको पर्यटकीय स्थल छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन थालिएको छ ।

    छम्केश्वरी पर्यटन विकास समितिको नेतृत्वमा आँबुखैरेनी गाउँपालिका-५ स्थित छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन सुरु गरिएको हो ।

    काठमाडौंस्थित केडी मेटल वर्कसपका इञ्जिनियरको सहभागितामा अध्ययन सुरु गरिएको पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङले जानकारी दिए ।

    समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा मोनोरेल सञ्चालन गर्न सकिए प्रदेशकै उत्कृष्ट गन्तव्यस्थल बनाउन सकिने उनको भनाइ छ ।

    छिम्केश्वरी माई मन्दिरको दर्शनका लागि आउने अशक्त, अपाङ्गता, वृद्धवृद्धालाई लक्षित गरी ठूल्ढुङ्गाबाट मन्दिरसम्म छ सय मिटर दूरीको मोनोरेल सञ्चालन गर्ने लक्ष्य लिइएको तामाङले बताए ।

    उनले भने, “पहिलो चरणमा नापजाँच सुरु गरिएको छ । लागतसहितको प्रतिवेदन एक हप्ताभित्र आइपुग्छ । त्यसपश्चात् थप प्रक्रिया अगाडि बढाउँछौं ।”

    छिम्केश्वरीमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेको तथ्याङ्क छ ।

    छिम्केश्वरीमा पर्यटकीय पूर्वाधार निर्माण गरेर धेरै पर्यटक भित्र्याउने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

    उनले भने, “हामी छिम्केश्वरीको एकीकृत पर्यटकीय विकासमा जुटेका छौँ । त्यसका लागि सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्छौं ।”

    गाउँपालिकाले छिम्केश्वरीमा पूर्वाधार निर्माण गरेर समग्र गाउँपालिकाको विकासको योजना अगाडि बढाएको चुमानको भनाइ छ ।

    छिम्केश्वरीमा सडक असुविधा, खानेपानी अभाव, विद्युत् समस्या, मोबाइल नेटवर्क र टावर व्यवस्थापनलगायत समस्या रहेकाले त्यसको क्रमशः निराकरण हुँदै जाने उनले बताए ।

    सडक सञ्जाल स्तरोन्नतिका क्रममा रहेको भन्दै चुमानले खानेपानीको बजेट स्रोत भएर विस्तृत परियोजना प्रतिवेदन गरेर ठेक्का लगाउन बाँकी रहेको जानकारी दिए ।

    छिम्केश्वरीमा पानीको अभाव हुँदा विकास निर्माणमा बाधा पुग्दै आएको छ । खानेपानी सुविधाका लागि खानेपानी मन्त्रालयबाट बजेट विनियोजन भइ विस्तृत परियोजना प्रतिवेदनको चरणमा रहेको चुमानको भनाइ छ ।

    उनले भने, “वडा नं. ४, ५ र ६ लाई समेटेर एकीकृत छिम्केश्वरी खानेपानी आयोजना अगाडि बढाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) भइरहेको छ । डिपिआर सकिएपछि मन्त्रालयबाट ठेक्का आह्वान हुनेछ ।” उनका अनुसार खानेपानीका लागि करिब रु. दस करोड लाग्ने अनुमान छ ।

    विशेषगरी यहाँ फागु पूर्णिमा, वैशाख १ गतेको नयाँ वर्षलगायतका बेला यहाँ पर्यटकको ठूलो भीड लाग्ने गरेको छ ।

    त्यसका अलावा दैनिकरुपमा पनि यहाँ पर्यटकको आगमन बढिरहेको छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष तामाङले जानकारी दिए ।

    उनका अनुसार आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरीमा रहेको छिम्केश्वरी मन्दिर जीर्णोद्वार गरिसकेको छ । यसअघि रहेको पुरानो मन्दिरलाई जीर्णोद्वार गरी मन्दिरलाई आकर्षक बनाइएको छ । मन्दिरमा पित्तलको छानो राखिएको छ ।

    गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरी माई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक जनविश्वास रहिआएको छ ।

    सात देवीमध्ये जेठी बूढीदेवी माई र माइली छिम्केश्वरी माई यहाँ अवस्थित छन् भने साइली गोरख काली माई, काइली मनकामना माई, अन्तरी इच्छा कामना माई, जन्तरी अन्नपूर्णा माई र कान्छी अकला माईलाई सोहीस्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।

    छिम्केश्वरीबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ्रेलगायत हिमाल आँखै अगाडि हेर्न सकिन्छ ।

    छिम्केश्वरी मन्दिर पुग्न गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण भइसकेको छ । आर्थिक वर्ष २०७५/७६ मा रु. ४१ लाख ६३ हजार सात सय छको लागतमा चार सय ८६ मिटर ढुङ्गाको सिँढी निर्माण सम्पन्न भएको छ भने आ.व. २०७६/७७ मा रु. ३५ लाख ९९ हजार एक सय ४१ को लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ ।


    प्रकाशित : शनिबार, जेठ १७ २०८२०७:१५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार