२०८३, कार्तिक १३ गते शुक्रबार

तारालाल श्रेष्ठको साइकल सौन्दर्य किताब बिमोचित

तारालाल श्रेष्ठको साइकल सौन्दर्य किताब बिमोचित


  • मेरोभ्यूज
  • जेठ १९, २०८२ सोमबार

  • तारालाल श्रेष्ठको साइकल सौन्दर्य किताब बिमोचित

    काठमाडौं । तारालाल श्रेष्ठको पाचौं अनुसन्धान पुस्तक साइकल सौन्दर्य नेपाल पर्यटन बोर्ड काठमाडौंमा बिमोचन सम्पन्न भएको छ ।

    कार्यक्रममा लेखक, कलाकार तथा साहित्यकारसँगै साइक्लिस्टहरुको बाक्लो उपस्थिति थियो ।

    नेपालको साइकल संस्कृति इतिहास, वर्तमान र भविश्यबारे साङ्गोपाङ्गो दस्तावेजीकरणको अभाव खडकिरहेको सन्दर्भमा श्रेष्ठको यस किताबले नयाँ खालका पाठकलाई आकर्षित गर्न र नेपाली साहित्यलाई फराकिलो पार्न गहन योगदान पुर्‍याउने विश्वास कार्यक्रममा सहभागी अतिथिहरुले व्यक्त गरे ।

    कार्यक्रममा भुँइतहबाट साइकल शिक्षक तथा सिर्जनात्मक साइकल अभियान सञ्चालनमा योगदान गरिआएका अगुवाहरु वक्ताका रुपमा उपस्थित थिए ।

    जेन जी पुस्तालाई साइकल शिक्षणमा सघाइ आएका युवा अभियन्ता तानिया श्रेष्ठदेखि विश्व साइकल यात्री पुस्कर शाहसम्म कार्यक्रममा उपस्थित भइ साइकल साहित्य तथा अभियानबारे विभिन्न कोणबाट विमर्श गरिएको थियो ।

    कलाकार सरिता डंगोलले महिला स्वतन्त्रता र स्वाधीन कला सिर्जनासँग साइकल संस्कृति जोडेका थिइन ।

    अस्मिता राजवंशीले दिदीबहिनीलाई साइकल सिकाउँदाका अनुभवसहित नेपाली साइकल संस्कृतिमा यस खालका किताबको उल्लेखनीय योगदान रहने विश्वास व्यक्त गरिन् ।

    मायालक्ष्मी महर्जनले स्वयम्भूमा महिला साइकल शिक्षणबारे अनुभव बाडिन् । क्यान्सर जितेर सक्रिय साइक्लिङ गरिरहेकी कविता चित्रकारले आफ्नो अनुभव सुनाउँदा सहभागीमाझ गहिरो सन्नाटा छाएको थियो ।

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर प्रा.डा. पवन शर्माले नियमित साइकल चलाउँदा हुने स्वास्थ्यलाभबारे आफ्नो अनुभवसहित तथ्य प्रस्तुत गरे ।

    साइकल कनेक्ट भक्तपुरका अध्यक्ष ई. सुमित बालाले तारालाल श्रेष्ठको किताबले नेपालको साइकल इतिहाससहित वर्तमान र भविश्यको गन्तव्य मार्ग प्रशस्त गरेको बताए ।

    बिमोचन कार्यक्रमका प्रमुख अतिथि कुलमान घिसिङले साइकल र उर्जासँगको सम्बन्धलाई जोड्दै भविश्यमा नेपालको हरित उर्जा हाइड्रोजन शक्तिमा नेपाल निकै अगाडि देखा परेको आशावादी तथ्य प्रस्तुत गरे ।

    उनले कुनै पनि क्षेत्रका अगुवाले आत्मशक्ति बढाउने खालका अभिव्यक्ति दिनुपर्ने, वृहत्तम हितका गतिविधि गर्नुपर्ने र जनमानसमा सकारात्मक उर्जा भर्नुपर्ने कुरामा जोड दिँदै त्यस किसिमको चेतना फैलाउन श्रेष्ठको साइकल सौन्दर्य पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

    डिस्कोर्स पब्लिकेशनले प्रकाशन गरेको साइकल सौन्दर्य किताबले २५ अध्यायमा अटोएथ्नोग्राफ्रिक वर्णन विधिबाट मेचिदेखि महाकाली तथा तराईदेखि मिथकीय हिमालसम्मका नेपालका साइकल समुदायका सत्य कथाहरु समेटेको छ । 


    प्रकाशित : सोमबार, जेठ १९ २०८२०८:०५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार