बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सकिएको छ । दोस्रो याममा ११ नाउर र सात झारल मात्र सिकार भएको छ ।
वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्न बोलपत्र आह्वान गरी १३ नाउर, दस झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार गर्ने अनुमति दिएको थियो ।
सिकार खेल्नका लागि हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रा.लि., ट्रयाक्स एन्ड ट्रेल्स प्रा.लि., हिमालयन सफारिज प्रा.लि., ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छवटा कम्पनीले अनुमति पाएका थिए ।
वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन सिकार आरक्षको फागुने, सुनदह, घुस्तुङ, दोगाडीलगायत ब्लकमा पुगेका थिए ।
ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीका अनुसार, चैत २६ गतेदेखि सिकारी ढोरपाटन आएका थिए । सिकारीले सुनदह ब्लकमा दुई नाउर र दुई झारल, घुस्तुङ ब्लकमा तीन नाउर र तीन झारल, दोगाडी ब्लकमा चार नाउर र एक झारल, फागुने ब्लकमा एक नाउर र एक झारल र बार्सेमा एक नाउरको सिकार गरेका थिए । १२ बँदेलको सिकार अनुमति दिए पनि एउटा पनि सिकार भएन ।
दोस्रो याम (फागुन–वैशाख)का लागि वैशाख १६ गतेसम्म सिकारीले सिकार खेलेका थिए । सुवेदीका अनुसार हिमालयन वाइल्डलाइफ आउटफिर्टस काठमाडौँले सिकारीमार्फत दुई नाउर, दुई झारल र दुई बँदेल सिकार गर्न अनुमति पाएको थियो ।
यो कम्पनीले एउटा नाउर र एउटा झारल मात्र सिकार गरेको छ । ट्रयाक्स एण्ड ट्रेल्स प्रा.लि.मार्फत अमेरिकन सिकारीले दुई नाउर र दुई झारल सिकार गर्ने अनुमति पाएकोमा सबै वन्यजन्तुको सिकार गरेको उनले बताए ।
त्यसैगरी हिमालयन सफारिज प्रा.लि., काठमाडौँमार्फत तीन सिकारीले तीन नाउर, एक झारलका लागि अनुमति पाएकोमा तीन नाउर र एक झारल सिकार गरेका छन् ।
ग्लोबल सफारिज नेपाल प्रा.लि.मार्फत दुई सिकारीले दुई नाउर, एक झारल र दुई बँदेलको सिकार गर्ने अनुमति पाएका थिए । त्यसमध्ये दुई नाउर र एक झारलको सिकार गरेका छन् ।
नेपाल ट्राभल एक्सपिडिसन प्रा.लि.मार्फत तीन सिकारीले तीन नाउर, तीन झरल र तीन बँदेल सिकार गर्ने अनुमति पाएकोमा दुई नाउर मात्र सिकार गरेको सुवेदीले जानकारी दिए ।
ओपन नेपाल वाइल्डलाइफ सफारिज एन्ड ट्रेक्स प्रा.लि.मार्फत तीन सिकारीले एक नाउर, दुई झारल र तीन बँदेलको सिकार गर्न अनुमति पाएकोमा एक नाउर र दुई झारलको सिकार गरेको उनले बताए ।
दोस्रो सिकार आयममा अमेरिका, अर्जेन्टिना, स्पेनिस, फ्रान्सबाट सिकारी आएका थिए । ढोरपाटनमा हरेक वर्ष (असोज–मङ्सिर) पहिलो र (फागुन–वैशाख) दोस्रो याममा सिकार हुने गर्छ ।

