२०८३, कार्तिक १५ गते आइतबार

म्याग्दीको लाखेत ओझेलमा

म्याग्दीको लाखेत ओझेलमा


  • मेरोभ्यूज
  • जेठ २८, २०८२ बुधबार

  • म्याग्दीको लाखेत ओझेलमा

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा रहेको लाखेत पर्यटक र पूर्वाधारका पर्खाइमा छ ।

    पर्यटकीय सम्भावना भएपनि पूर्वाधार र प्रचार-प्रसारको कमीले मुना र फलीगाउँको शिर तथा मालिका धुरीको फेदीमा रहेको समथर फाँट लाखेतमा पर्यटक भित्रिन सकेका छैनन् ।

    समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइमा रहेको लाखेतबाट गुर्जा, धौलागिरि र मानापाथी हिमाल, धवलागिरि गाउँपालिकाका ग्रामिण वस्ति, पहाडी भूगोल र सुर्योदयको दृष्यावलोकन गर्न सकिन्छ ।

    मुनाका बासिन्दा मदन पुनले प्राकृतिक हिसाबले सुन्दर र मनोरमस्थल लाखेत सधैँ सुनसान भएको बताए । “दृष्य अवलोकनका साथै शान्त र एकान्त वातावरण पनि लाखेतको विशेषता हो,” उनले भने “मुना र फलीयागाउँ हुँदै ढोरपाटन, गुर्जा, डोल्पा र धौलागिरि चक्रीय पदमार्गमा आउने पर्यटकलाई लाखेत घुमाएर बसाई लम्बाउन सकिन्छ ।”

    लाखेत नजिकैको खर्क र बारीमा हिउँदयाममा गाईभैंसीका घुम्ती गोठ राख्ने गरिन्छ । गोठालाको दैनिकी र जीवनशैलीले पनि पर्यटक लोभ्याउन सक्ने सम्भावना छ । मुना र फलियागाउँदेखि करिब ३० मिनेट उकालो पैदलयात्रा र सवारी साधनमा दस मिनेटमा लाखेतमा पुगिन्छ ।

    केही वर्षअघिसम्म मकै, कोदो र आलु खेती हुने लाखेतको बारी बाँझिन थालेको छ । घुम्ति पशुगोठ लैचाने चलन हराएको छ ।

    युवा पुस्ता विदेश पलायन र बसाइसराईका कारण बारी बाझिनुका साथै घुम्ती गोठ हराएको हो । लाखेतमा वनभोजस्थल बनाउन आर्थिक वर्ष २०७६/०७७ मा डिभिजन वन कार्यालयमार्फत सार्वजनिक शौचालय र दृष्य अवलोकनस्थल निर्माण भएको थियो ।

    संरक्षण र उपभोग नहुँदा शौचालय र दृष्य अवलोकनस्थल अलपत्र भएको छ । धवलागिरी गाउँपालिकाले मुनादेखि लाखेतसम्म सडक पुर्याएको छ ।

    मुनादेखि धार्मिक पर्यटकीयस्थल मालिका धुरी जाने सडक लाखेतको नजिकै छ । मालिका जोड्ने सडक स्तरोन्नती, फलीगाउँ र मुनादेखि लाखेत जोड्ने पदमार्ग निर्माण गर्न आवश्यक छ । साथै यहाँको विशेषता र आकर्षणको बारेमा प्रचार-प्रसार नभएकाले पनि ओझेलमा परेको हो ।

    लाखेतलाई वनभोजस्थलको रूपमा विकास गर्न पहल गरेको धवलागिरी–३ मुनाका वडा अध्यक्ष देवेन्द्र रोकाले बताए । मुना र फलीगाउँमा बास बस्ने पर्यटकलाई हाईकिङ गराएर लाखेतसम्म पुर्याउने र दृष्य अवलोकन गराउने ब्यवस्था मिलाउन पहल गरेको उनले बताए ।


    प्रकाशित : बुधबार, जेठ २८ २०८२१०:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार