२०८३, कार्तिक १५ गते आइतबार

पर्यटक लोभ्याउने ‘ढुम्बा ताल’

पर्यटक लोभ्याउने ‘ढुम्बा ताल’


  • मेरोभ्यूज
  • आषाढ ४, २०८२ बुधबार

  • पर्यटक लोभ्याउने ‘ढुम्बा ताल’

    मुस्ताङ । नीलगिरि हिमालको फेदैमा घरपझोङ–५ सम्लेस्थित ढुम्बा ताल आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । समुन्द्री सतहदेखि दुई हजार आठ सय ३० मिटर अग्लो उचाइमा अवस्थित ढुम्बा ताल पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको हो ।

    जोमसोम-कोरला राष्ट्रिय राजमार्गदेखि तीन किलोमिटर दूरीमा पर्ने ढुम्बा तालसम्म सडकको पहुँच जोडिएसँगै आन्तरिक तथा पर्यटकको उपस्थिति वृद्धि हुन थालेको हो ।

    मुक्तिनाथ दर्शन गर्ने र उपल्लो मुस्ताङको कोरला नाका पुगेर फर्किएका पर्यटकले ढुम्बा तालको अवलोकन गर्न छुटाउँदैनन् ।

    गण्डकी प्रदेश सरकारले ढुम्बा ताल जोड्ने गरी घरपझोङ रिङरोड सडक स्तरोन्नती गरेकाले पर्यटकलाई ढुम्बा ताल पुग्न सहज भएको हो ।

    ताल छेउ रेष्टुरेन्ट सञ्चालन गरेकी सनी थकालीले पर्यटकीय याममा दैनिक दुई सयदेखि पाच सयसम्म आन्तरिक तथा बाह्य पर्यटक ढुम्बा तालको अवलोकन गर्न आउने गरेको जानकारी दिए ।

    “विशेषगरी दशैँतिहार र ‌औँशी तिथिमा धेरै पर्यटक यहाँ आउँछन्, अन्य समयमा औसत ४०/५० जनाको हाराहारी पर्यटक आउँछन्”, उनले भने, “बर्सेनी सडक सुविधा सहज हुँदै गएकाले पर्यटक सङ्ख्या वृद्धि भइरहेको छ ।”

    यो ताल पछिल्लो समय ‘पान बुट्टे’ तालका रुपमा पनि परिचित छ । ढुम्बा ताल माथिको अग्लो स्थानमा अवलोकन गर्दा ढुम्बा ताल प्रेम चिह्नका आकारमा देख्न सकिन्छ ।

    यसैका कारण ढुम्बा ताललाई पान बुट्टे ताल भन्ने गरिएको हो । करिब एक सय ३० मिटर दूरीमा फैलिएको नीलो रङ्गको ढुम्बा ताल अग्लो स्थानको जङ्गलको फेदमा छ । नीलगिरि हिमालको फेदमुनिको मूलको पानी सिञ्चित भएर यो ताल बनेको स्थानीयको भनाइ छ ।

    ढुम्बा तालबाट नीलिगिरि र धौलागिरि हिमाललगायत आसपासका डाँडाकाँडा मनमोहक देखिन्छन् । ढुम्बा तालमा कुछ्प तेरङ्गा गुम्बा, कालीगण्डकी करिडोरलगायत जोमसोम, ठिनी, स्याङ, मार्फा, सम्लेलगायत गाउँ आकर्षक देखिन्छन् ।

    यसका अलावा ढुम्बा तालबाट मार्फा, जोमसोम, स्याङ, ठिनी र सम्ले गाउँलगायतका स्थानका स्याउबारी तथा उवाखेतीले त्यहाँ पुग्ने पर्यटकलाई झनै मोहित तुल्याउने गर्छ ।

    काठमाडौँबाट ढुम्बा ताल आइपुगेकी सोनी अवालले कोलाहल मुक्त स्थानमा रहेको तालमा आइपुग्दा बेग्लै अनुभूति भएको सुनाए ।

    तालतलैया त बेंसीमा छन्, तर त्यहाँ निकै नै कोलाहल हुन्छ, अवालले थपे, “यहाँको प्राकृतिक सौन्दर्यता र रमणीय कोलाहल मुक्त स्थानले बेग्लै संसारमा आइपुगको महशुस भएको छ ।”

    ढुम्बा ताल नजिकै रहेको कुछप तेरङ्गा गुम्बाको इतिहाससँग जोडिएको थकालीको भनाइ छ । उनका अनुसार परापूर्वकालमा ठिनी गाउँका स्थानीय लामा उर्गेन पाल्साङले तिब्बत पुगेर बौद्ध शिक्षा प्राप्त गरेका थिए ।

    त्यस क्रममा लामा पाल्साङलाई बुद्ध धर्म फैलाउन गुरु दक्षिणा स्वरुपमा गुरुले पद्यसम्भव (गुरु रिन्र्पोछे)को पाँच रत्न उपहार दिएका थिए । गुरुले पाँच रत्न दिने क्रममा त्यसलाई विशाल हात्तीको सुँढ आकारको पहाड र त्यसको देब्रे दाहिने हिमाल देख्न सकिने, त्यसको तल कालीगण्डकी नदी र उत्तरतर्फ ताल भएको ठाउँमा विराजमान गराउनु भन्ने आदेश दिए ।

    सोही अनुसार ढुम्बा तालको छेउमा गुरु पद्मसम्भवको पाँच रत्न कुछ्प तेरङ्गा प्रतिस्थापन गरेको भन्ने किंवदन्ती छ ।

    बौद्ध धर्मको चार हाँगामध्ये निङ्पा धर्मसँग कुछ्प तेर्ङगा गुम्बा र ढुम्बाताल सम्बन्धित रहेको स्थानीय थकालीको भनाइ छ । बर्सेनी कुछ्प तेरङ्गा गुम्बामा विशेष धार्मिक पूजाआजा चल्दा ढुम्बा तालको जल चढाउने गरिन्छ ।

    ढुम्बा ताल कुछ्प तेर्गा गुम्बा व्यवस्थापन समितिको स्वामित्वमा छ । ताललाई एक्यापअन्तर्गत स्थानीय जोमसोम, ठिनी र सम्ले संरक्षण व्यवस्थापन समितिले संरक्षण गर्दै आइरहेका छन् ।

    गुरु पद्यमसम्भवको पाँच रत्न प्रतिस्थापित गुम्बामा विशेष पूजापाठ हुँदा तालमा माछाको भुरा छाड्ने गरेको छ । तालको उत्तरतर्फको भागमा ठूलो सेतो ढुङ्गा अवस्थित छ । त्यहाँ नागदेवताको थान रहेको बताइन्छ ।

    तालमा माछा मार्न प्रतिबन्ध गरिएको छ । तालमा माछा खानका लागि लोपोन्मुख पानी हाँसहरु जम्मा हुने गर्छन् ।

    पछिल्लो समय प्रदेश, स्थानीय सरकार, एक्याप, संरक्षण व्यवस्थापन समिति, गुम्बा संरक्षण व्यवस्थापन समिति र स्थानीयवासीको पहलमा ढुम्बातालमा पूर्वाधार विकासमा समेत जोड दिइएको छ । ढुम्बा ताल वरिपरि रेलिङसहितको सिँढी बाटो, विश्राम स्थल, हट रुमलगायत विभिन्न सूचनामूलक साइनबोर्डहरुको व्यवस्थापन गरिएको छ ।


    प्रकाशित : बुधबार, आषाढ ४ २०८२०९:१३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार