बाँके । पुस्तौँदेखि बसोबास गर्दै आएको जमिनको लालपूर्जा पाएपछि बाँकेको कोहलपुरका भूमिहीन सुकुम्वासी परिवारमा खुसियाली छाएको छ ।
चवालिस वर्षदेखि भूमिहीन अवस्थामा रहेका कोहलपुर नगरपालिका–१ निवासी ८० वर्षीय सनबहादुर रानाले लालपूर्जा प्राप्त गरेपछि जीवनमा पहिलो पटक धेरै खुसी लागेको बताए ।
उले भने, “सरकारले लालपूर्जा दिएर हाम्रो आत्मलाई खुसी बनाएको छ, अब मर्दा पनि सुखले श्वास जाने भयो ।”
कोहलपुर नगरपालिका–१ का एक सय वीस भूमिहीन सुकुम्वासी र भूमिहीन दलित परिवारलाई भूमि समस्या समाधान आयोगमार्फत प्रतिपरिवार तीन सय ४० वर्गमिटर अर्थात् करिब एक कट्ठा जमिनको जग्गाधनी पूर्जा वितरण गरिएको छ ।
स्थानीय लक्ष्मीबहादुर महतले पहिले भूमिहीन सुकुम्वासीका रूपमा रहेको आफ्नो पहिचान अब फेरिएको भन्दै खुसी व्यक्त गरे । “लामो समयसम्म भूमिहीन अवस्थामा थियौँ । अब भने जग्गा धनी भएका छौँ । हाम्रो लागि यो निकै खुसीको कुरा हो,” उनले भने, “सरकारले गरिबको पक्षमा काम गरेको अनुभूति भएको छ, सरकारले हाम्रो वर्षौंदेखिको माग पूरा गरेको छ । निकै हर्षित छौँ ।”
पुस्तौँदेखि ऐलानी जमिनमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्वासी परिवारले लालपूर्जा पाएको कोहलपुर नगरपालिका–१ का वडाध्यक्ष बद्रीप्रसाद जैसीले बताए । भूमिहीन वडावासीलाई लालपूर्जा वितरण गर्न पाउँदा आफूलाई समेत खुसी लागेको भन्दै उनले वडाका सबै भूमिहीन सुकुम्वासीलाई क्रमशः लालपूर्जा वितरण गर्नेगरी पहल भएको उल्लेख गरे ।
भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले जिल्लामै पहिलो पटक कोहलपुर नगरपालिका–१ क्षेत्रका भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपूर्जा वितरण गरिएको बताए ।
उनका अनुसार वर्तमान सरकार गठनपछि बनेको भूमि समस्या समाधान आयोगमार्फत लुम्बिनी प्रदेशमै पहिलो पटक यहाँ लालपूर्जा वितरण गरिएको हो ।
समग्र देशभरकै हिसाबमा बाँके चौथो जिल्ला हो । प्रदेशअन्तर्गत लुम्बिनी प्रदेशको पहिलो जिल्ला बाँके र बाँकेमा भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपूर्जा वितरण गर्ने पहिलो स्थानीय तह कोहलपुर बनेको छ ।
अध्यक्ष खनालले जेठको दोस्रो सातासम्म विभिन्न स्थानीय तहका थप नौ सय ३६ जनालाई लालपूर्जा वितरण गर्ने गरी काम भइरहेको जानकारी दिए ।
“कोहलपुर नगरपालिका–२, १४, १५, नेपालगञ्ज उपमहानगरपालिका–१९ र २०, राप्तीसोनारी गाउँपालिका–७ र वैजनाथ–६ मा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरण गर्ने तयारी भएको छ”, उनले भने, “हालसम्म जिल्लामा ५४ हजार हाराहारीमा लालपूर्जाका लागि आवेदन परेको छ । असारभित्र छ हजार लालपूर्जा वितरण गर्ने लक्ष्य छ ।”

