२०८३, कार्तिक १२ गते बिहीबार

खोपारामा पर्यटकीय पूर्वाधार

खोपारामा पर्यटकीय पूर्वाधार


  • मेरोभ्यूज
  • आषाढ १०, २०८२ मंगलबार

  • खोपारामा पर्यटकीय पूर्वाधार

    म्याग्दी । नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको अन्नपूर्ण गाउँपालिका–५ को खोपारा लेकमा पूर्वाधार निर्माण थालिएको छ ।

    खोपारा घुम्न आउने पर्यटकको सहजताका लागि आश्रयस्थल, पदमार्ग र खानेपानी व्यवस्थापनको काम थालिएको हो । गण्डकी प्रदेश सरकारको रु. वीस लाख बजेटबाट पर्यटन तथा उद्योग कार्यालयले उपभोक्ता समितिमार्फत खोपारा पर्यटन पूर्वाधार योजना सञ्चालन गरिएको इञ्जिनियर सुमन बोगटीले जानकारी दिए ।

    असारभित्र योजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । समुद्र सतहबाट तीन हजार छ सय मिटर उचाइमा रहेको खोपारामा योजना सञ्चालन गर्न पाउद्वार गाउँका मजदूर त्यही बास बसेका छन् ।

    गाउँदेखि आवत-जावत गर्न टाढा भएकाले सम्बन्धित ठाउँमै बास बसेर साँझ बिहानको समयमा पनि काम गरिएको उपभोक्ता समितिका अध्यक्ष हरि पाइजाले बताए ।

    “वैशाख दोस्रो हप्तासम्म हिउँ परेर काम गर्न पाइएन्”, उनले भने, “हिजोआज पनि अपराह्न २ बजेपछि पानी परेर पूरै दिन काम गर्न पाएका छैनौँ ।” गत वर्ष पनि प्रदेश सरकारको रु. वीस लाखको बजेटबाट खोपारामा पर्यटन पूर्वाधार निर्माण भएको थियो ।

    सडक विस्तारसँगै अन्नपूर्ण चक्रिय पदमार्गमा छोटिएको पर्यटकको बसाइ र यात्रा अवधि लम्ब्याउन खोपारालाई वैकल्पिक गन्तव्य बनाइएको छ । खोपारा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयापभित्र) पर्छ । गुराँसको जङ्गलको बीचमा पहाडको टाँकुरामा भिरालो भूगोलमा अवस्थित खोपारा जैविक विविधतायुक्त ठाउँ हो ।

    अन्नपूर्ण, धौलागिरि, नीलगिरि, गुर्जा हिमाल, सूर्योदय, सूर्यास्त, पहाडी भूगोल, वनजङ्गल, वन्यजन्तु, पशुगोठ, ताल, झरनाको दृष्य अवलोकन गर्न सकिन्छ ।

    पर्यटक आगमन बढेपछि खोपारामा पर्यटन सहकारी संस्थाले सञ्चालन गरेको सामुदायिक लजको क्षमता वृद्धि गर्न आश्रयस्थलको नयाँ भवन निर्माण गर्न लागिएको हो ।


    प्रकाशित : मंगलबार, आषाढ १० २०८२१०:१७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार