२०८३, कार्तिक ११ गते बुधबार

‘राधाकृष्ण नाच’ संरक्षणमा ताकम वासी

‘राधाकृष्ण नाच’ संरक्षणमा ताकम वासी


  • मेरोभ्यूज
  • आषाढ ११, २०८२ बुधबार

  • ‘राधाकृष्ण नाच’ संरक्षणमा ताकम वासी

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकम गाउँको मौलिक संस्कृतिको रूपमा रहेको ‘राधाकृष्ण नाच’ संरक्षणमा स्थानीय सक्रिय भएका छन् ।

    हिमालको काख तथा समथर फाँटमा अवस्थित ताकम गाउँमा मानव बस्ती बसेदेखि नै राधाकृष्ण नाच देखाउन थालीएको इतिहास छ ।

    भजनकीर्तनको साथमा अभिनयसहितको नृत्य रहने राधाकृष्ण नाचको संरक्षण गर्न स्थानीय ताकम धार्मिक नाट्य समूह नै गठन गरेर अघि बढेका छन् ।

    समूहले लोप हुन लागेको राधाकृष्ण नाचको कला नयाँ पुस्तालाई हस्तान्तरण गर्ने गरेको स्थानीय कलाकार ऋषिराम सुवेदीले बताए ।

    “यो नाच यस क्षेत्रको करिब दुई सय वर्ष पुरानो सांस्कृतिक चिनारी मानिन्छ, हरेक वर्षको हरितालिका तीजमा अनिवार्यरूपमा ताकम गाउँमा उत्सवको रूपमा राधाकृष्ण नाचलाई देखाउने चलन छ, अहिले अन्य पर्व र उत्सवमा समेत यो नाच देखाउन थालिएको छ”, उनले जानकारी दिए ।

    राधाकृष्ण नाचका लागि समूहले भजनकीर्तन भाकामा गीतको रचनासमेत गरेका छन् । यो नाचमा हिन्दु धर्मवलम्बीको भगवान शिव, पार्वती र राधा कृष्णको माया प्रेमसहितको नाच गान तथा भगवान गणेश र खल पात्र जोक्करको भूमिकालाई नृत्य तथा अभिनयबाट प्रस्तुत गरिन्छ ।

    राधाकृष्ण नाचमा परापूर्वकालमा देवीदेवता र भगवानको माया प्रेम, जीवन दर्शनलाई भजनकीर्तनका भाकामार्फत व्यक्त गरेर अभिनयसहितको नृत्य आकर्षक तथा मनोरञ्जनात्मक हुने गर्छ ।

    पुर्खाबाट पुस्तान्तरण हुँदै आएको यो नाचलाई संरक्षण गर्न नयाँ पुस्तासमेतलाई सहभागी गराउन थालिएको ताकम धार्मिक नाट्य समूहका सचिव नेत्र सुवेदीले बताए ।

    उनका अनुसार पछिल्लो समय विभिन्न उत्सव, समारोह र सार्वजनिक कार्यक्रममा समेत राधाकृष्ण नाच देखाउन थालिएको छ ।

    हालै गाउँपालिकाले आयोजना गरेको पुर्ख्यौली नाच प्रतियोगितामा समेत राधाकृष्ण नाच धेरैको रोजाइ बनेको थियो ।

    गाउँपालिकाले पुर्ख्यौली संस्कृतिको संरक्षणमा देखाएको सक्रियताले नयाँ पुस्तालाई संस्कृतिको पुस्तान्तरणसंगै सांस्कृतिक पर्यटन प्रवर्द्धनसमेतमा सघाउ पुग्ने समूहका सचिव सुवेदीले जानकारी दिए ।

    राधाकृष्ण नाचमा सबै कलाकार पुरुष हुन्छन् । पार्वती र राधाको भूमिका पनि पुरुष कलाकारले निभाउँछन् । ताकम गाउँको सांस्कृतिक पहिचान र चिनारीका रूपमा रहेको यस राधाकृष्ण नाचको कला र सिप हस्तान्तरण गरेर संरक्षण गर्न स्थानीय अग्रसर बनेका छन् ।

    अहिले ताकम गाउँमा मात्रै नभएर सो गाउँपालिकाका र जिल्ला सदरमुकाम बेनीमा हुने सभा, समारोह, उत्सव मेला महोत्सवमा समेत प्रदर्शन हुन थालेको छ । धौलागिरि पदमार्गको पर्यटकीय गाउँको रूपमा चिनिएको ताकमको राधाकृष्ण नाच पर्यटन प्रवर्द्धनको माध्यय बन्ने अपेक्षा गरिएको छ ।


    प्रकाशित : बुधबार, आषाढ ११ २०८२०९:३६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार