काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्र विधेयक २०८१ माथिको पुनरवलोकनका लागि सरोकारवालासँग छलफल गरेको छ ।
पार्टी कार्यालय पेरिस डाँडामा आयोजित छलफलमा राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिका सदस्यहरू, चलचित्रकर्मी संघ तथा अन्य सरोकारवाला सहभागी थिए ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले चलचित्र विधेयकलाई निकै महत्वपूर्ण विषय भन्दै राज्यले यसको संवेदनशीलता बुझेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
अध्यक्ष दाहालले राजनीतिक नेतृत्वले खेल र चलचित्रजस्ता विषयमा ध्यान कम दिने गरेको उल्लेख गर्दै आफूले खेल र चलचित्र क्षेत्रलाई महत्व दिएर अगाडि बढाउन प्रयास गर्दै आएको बताए “म प्रधानमन्त्री भएपछिबाट खेल र चलचित्र क्षेत्रको विकासमा राज्यको ध्यान जानुपर्छ भनेर महत्व दिंदै आएको छु ,” अध्यक्ष प्रचण्डले जानकारी दिए ।
चलचित्र क्षेत्रलाई मनोरञ्जनको मात्र विषय नभइ समाज रूपान्तरणको साधनको रूपमा पनि लिनुपर्ने उनको धारणा थियो । “कतिपय चलचित्रले समाजमा सोच र विचारमै परिवर्तन ल्याएका छन् । चलचित्र कालजयी पनि हुन्छन्,” भन्दै प्रचण्डले सामाजिक घटनाक्रम चलचित्रमा सचित्र देखिनु आवश्यक रहेको उल्लेख गरे ।
अध्यक्ष दाहालले बिधयेकका लागि चलचित्र क्षेत्रमा कार्यरत व्यक्तिहरूका सुझावलाई महत्वपूर्ण हुने, “तपाईंहरूको सुझावलाई ग्रहण गर्नुपर्छ । यसले विधेयकलाई सशक्त बनाउँछ,” भने ।
शिक्षा विधेयकबारे समेत चर्चा गर्दै अध्यक्ष प्रचण्डले संविधानको भावना अनुसार सुधार र समावेशीताको पक्षमा आफू रहेको बताए ।
“हामी देश र जनतालाई अगाडि लैजानु पर्छ भन्नेमा छौं । तर केही तत्वहरूले यसको विरोधमा छन्,” भन्दै उनले अहिले पाइपलाइनमा रहेका विधयेकहरूमा सहमतिको वातावरण बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।
उनले चलचित्र विधेयकलाई समावेशी, सशक्त र समाजदर्शी बनाउन सबै पक्षसँग छलफल गरेर आवश्यक संशोधन गर्न सहयोग गर्ने विश्वास दिलाए ।

