२०८३, कार्तिक १५ गते आइतबार

पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा

पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा


  • मेरोभ्यूज
  • आषाढ १६, २०८२ सोमबार

  • पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा

    इलाम । पर्यटनको सम्भावना रहेको यहाँको माङसेबुङ गाउँपालिका–२ इभाङस्थित चमेरे गुफा ओझेलमा परेको छ । देउमाई खोलाको किनारसँगै पहाडको फेदीमा रहेको चमेरे गुफाको उचित प्रचार-प्रसार हुन सकेको छैन ।

    पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएको चमेरे गुफामा पूर्वाधार निर्माण, संरक्षण र प्रवर्द्धन गर्न नसकिएको स्थानीय पृथीमान जवेगूले बताए ।

    स्थानीयले वीस वर्षअघि पत्ता लगाएको गुफाको संरक्षण र प्रवर्द्धनका लागि सरकारी निकायको ध्यान नगएको उनको भनाइ छ । यो गुफा जिल्लाकै प्रमुख धार्मिकस्थल गजुरमुखी धामदेखि एक किलोमिटर दूरीमा मात्र अवस्थित छ ।

    प्राकृतिकरुपमा सुन्दर र आकर्षक छ, चमेरे गुफा । “चमेरे गुफालाई पर्यटकीय गन्तव्य बनाउन यसको संरक्षण र प्रवर्द्धनसँगै प्रचार-प्रसार गर्न आवश्यक छ”, जवेगुले भने, “त्यसो गर्न सकिएमा पर्यटकको उपस्थिति हुने सम्भावना छ ।”

    देवताका पालामा गजुरमुखी देवीलाई भेट्न आउँदा महादेवले सो गुफामा बास बसेको किवदन्ती प्रचलित छ । पछिल्लो समय गुफामा हुलका हुल चमेरा भेटिने भएकाले सो गुफाको नाम चमेरे गुफा राखिएको स्थानीय हिमाकुमारी अधिकारीले बताए ।

    गुफा फराकिलो छ । गुफाको प्रवेशद्वारदेखि भित्री भागसम्म चट्टानी संरचना देख्न सकिन्छ । खोलाको किनारमा चट्टानले बनेको संरचनाले यो गुफा भू-गर्भीय अध्ययनको दृष्टिले रोचक छ । गुफा करिब ४० देखि ५० जना मानिस अट्न सक्ने आकारमा छ ।

    तत्कालीन लिम्बूवानका राजाहरुले आफ्ना सेनालाई सेल्टरको रुपमा यस गुफामा राख्ने गरेको बताइन्छ ।

    माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले यस वर्षदेखि पालिकाभित्रका सबै ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण र संवर्द्धनका लागि योजनाबद्ध काम गरिने बताए ।

    “यसवर्षदेखि हामी नीति तथा कार्यक्रममा समेटर ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण र संवर्द्धनको योजनाबद्ध रुपमा काम गर्नेछौँ”, अध्यक्ष राईले जानकारी दिए ।

    माङसेबुङ–२ का वडाध्यक्ष कृष्णबहादुर बस्नेतले चमेरे गुफाको प्रवर्द्धन गर्न आगामी दिनमा वडाको विशेष ध्यान जाने बताए ।


    प्रकाशित : सोमबार, आषाढ १६ २०८२०८:५३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार