२०८३, कार्तिक १५ गते आइतबार

पर्यटकीय क्षेत्र ठूल्डाँडामा ‘फनर्पाक’

पर्यटकीय क्षेत्र ठूल्डाँडामा ‘फनर्पाक’


  • मेरोभ्यूज
  • आषाढ १८, २०८२ बुधबार

  • पर्यटकीय क्षेत्र ठूल्डाँडामा ‘फनर्पाक’

    बागलुङ । बागलुङको बरेङ गाउँपालिका-१ र २ को सिमानामा पर्ने पर्यटकीय क्षेत्र ठूल्डाँडामा ‘फनपार्क’ निर्माण गरिएको छ । बरेङ बजार नजिकै रहेको ठूल्डाँडा क्षेत्रमा गाउँपालिकाले रु. ४० लाख लागतमा ‘फनपार्क’ निर्माण गरी सञ्चालनमा ल्याएको हो ।

    पार्क सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ । तीन वर्ष अगाडि निर्माण सुरु गरिएको पार्क यसै वर्षदेखि सञ्चालनमा आएको गाउँपालिका कार्यालयले जनाएको छ ।

    एक दशक अगाडिसम्म झाँडीले ढाकिएको उक्त क्षेत्र अहिले रमणीय बनेको स्थानीय बताउँछन् । पार्क निर्माण भएपछि बरेङसहित बागलुङको गलकोट, जैमिनी, गुल्मी, स्याङ्जालगायत ठाउँबाट आन्तरिक पर्यटक घुम्न आउने गरेका स्थानीय चित्र थापाले बताए । गर्मीयाम सुरु भएपछि पार्कमा रहेका रुखका छहारीमा बस्न आउनेको सङ्ख्या बढेको उनको भनाइ छ ।

    करिब दुई हेक्टर क्षेत्रफलमा बनेको पार्कमा बालबालिकाका लागि खेल्ने, वनभोजस्थल, भवन, फोटो खिच्नेस्थाललगायत पूर्वाधार बनेकाले आन्तरिक पर्यटकको आकर्षण बढेको थापाले उल्लेख गरे ।

    बरेङका सबै वडासहित गुल्मी, स्याङ्या, माछापुच्छ्रेलगायत हिमालहरू अवलोकन गर्न सकिने भएकाले ठूल्डाँडा र पार्क पर्यटकका लागि आकर्षण केन्द्र बनेको उनले बताए ।

    उनले भने, “पहिले हामीले यहाँ गाईभैँसी चराउने गथ्र्यौँ, अहिले सुन्दर पार्क बनेको छ । सामाजिक सञ्जालको प्रयोगले पार्कको प्रचार-प्रसार भएपछि आन्तरिक पर्यटक आउने गरेका छन्, यहाँ फोटो, भिडियो खिच्न, वनभोज खान, हिमालको अवलोकन गर्न पर्यटक आउने गरेका छन् ।”

    बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले पदमार्ग र मोटरबाटोले ठूल्डाँडा जोडेपछि पर्यटकको आगमनमा वृद्धि आएको बताए । ठूल्डाँडामा पार्कसहित खानेपानी, शौचालय, बालबालिकाका लागि खेल्ने स्थान, वनभोजस्थल, आरामका लागि भवन, फोटो खिच्न पूर्वाधार बनाइएको उनको भनाइ छ । पार्कमा खुला व्यायामशालासमेत निर्माण गरिएको अध्यक्ष शर्माले जानकारी दिए ।

    “यो ठाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि प्रचार-प्रसार र पर्याप्त पूर्वाधार नहुँदा आझेलमा परेको थियो, यसलाई संरक्षण र प्रवर्द्धन गरी स्थानीयको आयआर्जनको स्रोत विकास गर्नुपर्छ भन्ने उद्देश्यले यहाँ पूर्वधार निर्माण गर्‍यौँ, पदमार्ग र मोटरबाटो दुवैले जोड्यौँ”, अध्यक्ष शर्माले भने, “अहिले ‘फनपार्क’मा व्यायामशालासहित थुप्रै संरचना बनेका छन्, जसले गर्दा यहाँ दैनिक पर्यटक आउने गरेका छन् । वरपर रहेका रुखसहित पोखरी पनि संरक्षण गरेर राखेका छौँ ।”


    प्रकाशित : बुधबार, आषाढ १८ २०८२१०:५६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार