२०८३, कार्तिक ११ गते बुधबार

धिमे बाजा’को संरक्षणमा जुट्दै भोजपुरका नेवार

धिमे बाजा’को संरक्षणमा जुट्दै भोजपुरका नेवार


  • मेरोभ्यूज
  • आषाढ २४, २०८२ मंगलबार

  • धिमे बाजा’को संरक्षणमा जुट्दै भोजपुरका नेवार

    भोजपुर । भोजपुरको नेवार समुदाय आफ्नो भाषा र संस्कृतिको जगेर्नामा जुटेको छ । लोप हुन लागेको धिमे बाजाको परम्परालाई संरक्षण गर्न जिल्लामा एक महिने धिमे बाजा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।

    नेवार समुदायमा प्रचलित धिमे बाजालाई जोगाइ राख्न नेवाः मिसा दबुको आयोजनामा एक महिने तालिमको आयोजना गरिएको संस्थाकी अध्यक्ष अवनी शाक्यले बताइन ।

    नयाँ पुस्तामा धिमे बाजाका बारेमा जानकारी गराउँदै यसतर्फ प्रोत्साहन गर्न यो तालिमको आयोजना गरिएको उनको भनाइ छ ।

    धिमे बाजा नेवार समुदायमा हरेक शुभकार्यमा बजाइने चलन रहँदै आएको छ ।

    प्रशिक्षक प्रेम शाक्यले सबै मिलेर आफ्ना बाजा, वेशभूषा, संस्कार र संस्कृति जीवन्त राख्न आवश्यक भएको जानकारी दिए ।

    उनले भने, “आफ्नो संस्कार र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई पनि सिप र कला हस्तान्तरण गर्न यस्ता प्रशिक्षण जिल्ला तहमा महत्त्वपूर्ण हुनेछ ।”

    युवा पुस्ताले चासो नदिए संस्कृति नै हराउने जोखिम बढेको छ । विगतदेखिका कला, संस्कृति र परम्परा जोगाउन आफूले युवाहरूलाई प्रोत्साहन गर्दै आएको अध्यक्ष शाक्यले बताए ।

    पन्ध्र जनाको सहभागितामा आयोजित प्रशिक्षणले धिमे बाजाको ज्ञानसहित आफूहरूलाई सो बजाउने चरणबद्ध तरिकासमेत आएको प्रशिक्षणका सहभागी निलेस प्रधानले बताए ।

    “मलाई धिमे बाजाका बारेमा ज्ञान थिएन, एक महिनाको तालिम लिएपछि अब बजाउन पनि आउँछ”, उनले भने ।

    धिमे बाजा नेवार समुदायमा नयाँ वर्ष, विजया दशमी, दीपावली, गाईजात्रालगायत पर्वमा बजाउने गरिन्छ । नयाँ पुस्तामा सांस्कृतिक ज्ञान र सिप हस्तान्तरण नहुँदा संस्कृति लोप हुने अवस्थामा पुग्ने भएकाले यसलाई जोगाउन जरुरी रहेको नेवार समुदायका अगुवाहरूको भनाइ छ ।

    पुराना संस्कार र संस्कृतिको जगेर्नामा नगरपालिकाले पनि सहयोग गर्दै आएको भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले बताए ।

    नेपाली संस्कार र संस्कृति अमूल्य सम्पत्ति भएकाले सबै भाषा, धर्म र संस्कृतिको संवर्द्धन जरुरी रहेको नगरप्रमुख आलेको धारणा छ ।

    प्रशिक्षणका क्रममा आर्जन गरेका सिप व्यवहारमा उतार्न जरुरी रहेको उल्लेख गर्दै नगरप्रमुख आलेले धिमे बाजा केवल बाजा मात्र नभएर मौलिक संस्कृति र पहिचान भएको जानकारी दिए ।


    प्रकाशित : मंगलबार, आषाढ २४ २०८२१०:१३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार