२०८३, कार्तिक १५ गते आइतबार

महिला, अपाङ्गता भएका र विदेशबाट फर्किएकालाई बङ्गुरका पाठा

महिला, अपाङ्गता भएका र विदेशबाट फर्किएकालाई बङ्गुरका पाठा


  • मेरोभ्यूज
  • आषाढ २५, २०८२ बुधबार

  • महिला, अपाङ्गता भएका र विदेशबाट फर्किएकालाई बङ्गुरका पाठा

    खोटाङ । यहाँको हलेसी तुवाचुङ नगरपालिकाले महिला, अपाङ्गता भएका र वैदेशिक रोजगारीबाट फर्किएकालाई बङ्गुरको पाठापाठी उपलब्ध गराएको छ ।

    उनीहरुको आम्दानीको स्रोत वृद्धि गराउँदै नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले उन्नत जातका बङ्गुरको पाठापाठी उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाले पारित गरेको ‘बङ्गुर प्रवर्द्धन कार्यक्रम’अन्तगर्त यस वर्ष एक सय १५ वटा उन्नत जातका बङ्गुरको पाठापाठी वितरण गरिएको नगरप्रवक्ता कमल गिरीले जानकारी दिए ।

    “नगरवासीलाई बङ्गुरपालन व्यवसाय गराउन १६ घरपरिवारलाई खोर निर्माण गर्न ६० प्रतिशत अनुदान उपलब्ध गराएका छौँ । दुई लाख बराबरको खोर बनाएका घरपरिवारलाई नगरपालिकाका तर्फबाट एक लाख वीस हजार अनुदान दिइएको छ”, उनले भने, “अनुदानमा खोर बनाएका र परिवारलाई दुई वटाको दरले बङ्गुरको पाठापाठी उपलब्ध गराएका छौँ । पशु प्राविधिकमार्फत परामर्श तथा औषधि उपचारसमेत उपलब्ध गराउने गरिएको छ ।”

    नगरपालिकाबाट गठित छनोट समितिको सिफारिसमा ६८ घरपरिवारलाई एक/एकवटा बङ्गुरको पाठा उपलब्ध गराइएको नगरप्रवक्ता गिरीले जानकारी दिए ।

    करुणा फाउनडेसनको सहयोगमा १५ वटा उन्नत जातका बङ्गुरको पाठापाठी अपाङ्गता भएका घरपरिवारलाई उपलब्ध गराइएको हो ।

    नगरसभाबाट रु. १२ लाख ५० हजार बजेट विनियोजन गरी बङ्गुर प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न आवेदन आह्वान गरेको थियो ।

    नगरपालिकाले कृषि, पशु तथा उद्यम गर्न चाहनेलाई अनुदान उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले यसअघि उन्नत जातका एक सय वटा भैँसी वितरण गरिसकेको छ ।

    सुक्खाग्रस्त क्षेत्रमा पर्ने यस नगरपालिकाले नगरबासीलाई दूध, मासु र तरकारीमा आत्मनिर्भर बनाउन आर्थिक वर्ष २०८०/८१ को नगरसभाबाट नीति तथा कार्यक्रम पारित गरेको थियो ।

    विशेषगरी वैदेशिक रोजगारीमा जाने युवालाई आफ्नै ठाउँमा रोजगार बनाउन व्यावसायिक कृषि तथा पशुपालनमा अनुदान दिने व्यवस्था गरेको नगरप्रमुख विमला राईले बताए ।

    उनले भने, “हाम्रो नगरपालिकालाई दूध, मासु र तरकारीमा आत्मनिर्भर बनाउने योजना छ ।”


    प्रकाशित : बुधबार, आषाढ २५ २०८२०९:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार