बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलो पटक ‘फ्रान्सेली सङ्गीत’ गुञ्जिएको छ ।
अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा मङ्गलवार आयोजित ‘अन्नपूर्ण हीरक महोत्सव’को अवसरमा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको आधार शिविरमा फ्रान्सेली कलाकारहरुको टोलीले साङ्गीतिक प्रस्तुति दिएका हुन् ।
अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगका छोरा माथिएस हर्जोगको नेतृत्वमा रहेको अन्नपूर्ण सङ्गीत समूहले आधार शिविरमा नेपाली सङ्गितको झल्को दिने साङ्गितिक प्रस्तुति दिएका हुन् ।
हार्मोनियम, बाँसुरी, गीतारलगायतका नेपाली बाध्यबाधनका साधनको सङ्गीतमा फ्रान्सेली कलाकारहरुले राखेको साङ्गीतिक प्रस्तुतिले आधार शिविरमा पुगेका आन्तरिक पर्यटक रमाएको अन्नपूर्ण हीरक महोत्सव आयोजक समितिका सदस्य तेज गुरुङले जानकारी दिए ।
“अन्नपूर्ण आधार शिविरमा पहिलो पटक यस प्रकारको साङ्गितिक कार्यक्रम आयोजना गरिएको हो, फ्रान्सेली कलाकारहरुको समूहले राखेको यो प्रस्तुतिले आगामी दिनमा हामीलाई आधार शिविरमा साङ्गितिक प्रस्तुतिका कार्यक्रम आयोजना गर्न प्रेरित गरेको छ”, अन्नपूर्ण पदमार्गका अभियन्तासमेत रहेका गुरुङले भने ।
कलाकारहरुले नेपालीपन झल्कने सङ्गित प्रस्तुत गर्नुका साथै फ्रान्समा प्रचलित नृत्यसमेत प्रस्तुत गरेका थिए ।
अन्नपूर्ण हिमालको काखमा रहेको मनोरम पञ्चकुण्ड ताल परिसरमा प्रस्तुत सङ्गितमा नेपाली र विदेशी पर्यटकहरुले रुचिका साथ अवलोकन गरेका थिए ।
हीरक जयन्तीको अवसरमा आयोजित पदयात्राको नेतृत्व गर्दै आधार शिविर पुगेका ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले सङ्गितको माध्ययमबाट पर्यटकीय क्षेत्रको प्रचार-प्रसार र प्रवर्द्धनमा सघाउ पुग्ने जानकारी दिए ।
अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ, टान, एक्याप र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको संयुक्त आयोजनामा आयोजित हीरक महोत्सवको अवसरमा आधार शिविरमा मौरिस हर्जोग, लुइस लाचेन र प्रथम नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको अर्धकदको सालिक अनावरण गरिएको छ ।
साथै आधार शिविरदेखि नारच्याङ गाउँसम्मको करिब ३६ किलोमिटर दूरीको म्याराथन प्रतियोगिताका साथै मौलिक नाचलगायतका कार्यक्रम सम्पन्न गरिएको छ ।

