
काठमाडौं । नेपाली कला, साहित्य र राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तिहरू हालै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई स्वागत गरे ।
माओवादी केन्द्रमा प्रवेश गर्नेहरूमा राष्ट्रिय जनसांस्कृतिक महासंघ, एमाले निकट परिषद् सदस्य चन्दु गोर्खाली, चलचित्र निर्माता तथा अभिनेता सुरेन्द्र बराल, कांग्रेस निकट लेखक र पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष ऋषिप्रसाद लामिछाने (गोर्खे साईंलो), चलचित्र कलाकार केशर विषी, भीमबहादुर मगर, तथा एमालेका पूर्व निर्वाचित वडाध्यक्ष रामेछाप नगरपालिकाका नेता रहेको छ ।
अध्यक्ष प्रचण्डले नवप्रवेशीलाई स्वागत गर्दै भने, “बधाई छ र पार्टी तथा आन्दोलनमा स्वागत गर्न चाहन्छु । अहिलेको परिवर्तन किन आयो भन्ने कुरा जनतालाई थाहा छ । यदि हामीले त्याग, समर्पण र संघर्ष नगरेको भए यो परिवर्तन सम्भव हुने थिएन । यो परिर्वतनलाई जनताको पक्षमा काम गर्नका लागि तपाईहरुको पार्टी प्रवेशले योगदान दिने छ ।”
माओवादी केन्द्रको पहल र संघर्षका कारण स्थापित परिर्वतन सबैलाई थाहा भएको भए पनि माओवादी र प्रचण्डको उचाइ बढ्छ भनेर केही मान्छेहरु त्यसका विरुद्ध गतिविधि गर्ने गरेको उनले बताए ।
उनले भने, “केही मान्छे माओवादी र प्रचण्डको उचाइ बढ्छ भनेर चिन्तित छन्, तर हामीले तीन पटक सरकारको नेतृत्व गर्दा देशको ऐतिहासिक रूपान्तरणमा निर्णायक पहलकदमी लिएका छौं । हाम्रो संकल्प नेपाली समाजको नयाँ खाका कोर्नु हो, जुन माओवादीसँग मात्रै सम्भव छ।”
संस्कृति र कलाको महत्त्वमाथि प्रकाश पार्दै प्रचण्डले भने, “प्रधानमन्त्री हुँदा मेरो नेतृत्वको सरकारले गरेको पहलले सांस्कृतिक क्षेत्रलाई टेवा पुर्याएको छ । संस्कृतिमा शक्ति हुन्छ - यही मान्यतामा आधारित भएर कलाकारहरुलाई पार्टीमा समायोजन गर्ने प्रक्रिया अघि बढाइएको हो । बदलिएको परिस्थितिमा फेरि पनि कलाकर्मीहरुलाई पार्टीमा जोड्नुपर्ने आवश्यकता महशुस गरिएको छ ।”
कार्यक्रममा बोल्दै नवप्रवेशी ऋषिप्रसाद लामिछाने (गोर्खे साउलो)ले भने, “म २०२२ सालदेखि कांग्रेस पार्टीमा क्रियाशील थिएँ । आन्दोलनका उतारचढावहरू देखेँ तर कांग्रेस पार्टीका पछिल्ला गतिविधिहरू आत्मसात गर्न सकिनँ । त्यसैले जनताको पक्षमा काम गर्न माओवादी केन्द्र रोजेको हुँ।”
सो अवसरमा पार्टीले आगामी दिनमा अझ धेरै क्षेत्रका व्यक्तिहरूलाई संगठित गर्ने र कलाकर्मी, साहित्यकार, संस्कृतिकर्मीहरूको योगदानलाई संस्थागत रूप दिन पहल गर्ने अध्यक्ष प्रचण्डले जानकारी दिने ।


