२०८३, कार्तिक १५ गते आइतबार

अनुदान पाएपछि तनहुँका किसान उत्साहित

अनुदान पाएपछि तनहुँका किसान उत्साहित


  • मेरोभ्यूज
  • श्रावण ७, २०८२ बुधबार

  • अनुदान पाएपछि तनहुँका किसान उत्साहित

    तनहुँ । आँबुखैरेनी गाउँपालिकाले किसानलाई मह र मास उत्पादनमा अनुदान दिएपछि किसान उत्साहित भएका छन् ।

    उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मह र मासमा अनुदान दिएको हो ।

    गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार किसानलाई मह र मासखेतीमा आकर्षित गर्ने उद्देश्यसहित पालिकाले प्रतिकिलो रु. २५ का दरले अनुदान दिएको हो ।

    आँबुखैरेनी–४ र ५ का किसानले चालु आर्थिक वर्षमा मह र मास उत्पादन गरेबापत रु. तीन लाख ९३ हजार चार सय ५० अनुदान पाएका थिए ।

    पालिकाले मह र मास हाटबजारसम्म ढुवानीको व्यवस्था पनि मिलाएको छ ।

    प्रमुख केसीले भने, “पालिकामा मास र मह उत्पादनको सम्भावना छ । किसानलाई यसमा टिकाइराख्न अनुदानको नीति लिएको हो । प्रतिकिलो रु. २५ का दरले अनुदान दिन्छौँ ।”

    चालु आर्थिक वर्षमा सात कृषक समूहमा आबद्ध एक सय २३ किसानले अनुदान पाएका छन् । आँबुखैरेनी गाउँपालिका–४ स्थित थामचुली मौरीपालक कृषक समूहमा आबद्ध किसानले चार सय ५० किलो मास र दुई सय ५८ किलो मह उत्पादन गरेबापत रु. १७ हजार सात सय अनुदान पाएका छन् ।

    त्यसैगरी आँबुखैरेनी–४ स्थित खस्राङ गाउँ कृषक समूहमा आबद्ध किसानले दुई हजार सात सय ९७ किलो मास उत्पादन गरेबापत रु. ६९ हजार नौ सय २५ अनुदान पाएका छन् ।

    आँबुखैरेनी–५ स्थित माइ छिम्केश्वरी कृषक समूहमा आबद्ध किसानले आठ सय ७१ किलो मास उत्पादन गरेबापत रु. २१ हजार सात सय ७५ अनुदान पाएका छन् ।

    आँबुखैरेनी–५ कै खोलागाउँ कृषक समूहमा आबद्ध किसानले दुई हजार पाच सय ९० किलो मास उत्पादन गरेबापत रु. ६४ हजार सात सय ५० अनुदान पाएका छन् ।

    ईन्द्रदेवी कृषक समूहमा आबद्ध किसानले एक हजार ५० किलो मास उत्पादन गरेबापत रु. २६ हजार दुई सय ५० अनुदान पाएका छन् ।

    भुकुन्डी खेउसिङ कृषक समूहमा आबद्ध किसानले छ हजार सात किलो मास उत्पादन गरेबापत रु. एक लाख ५० हजार एक सय ७५ अनुदान पाएका छन् ।

    आँबुखैरेनी गाउँपालिका–४ स्थित थानीमाइ कृषक समूहमा आबद्ध किसानले एक हजार सात सय ३२ किलो मास र ११ किलो मह उत्पादन गरेबापत रु. ४३ हजार पाच सय ७५ अनुदान पाएका छन् ।

    खोला गाउँ कृषक समूहका अध्यक्ष शुकमाया प्रजाले उत्पादनमा आधारित अनुदानले किसान आकर्षित भएको बताइन ।

    “मास र महका लागि पालिकाले सहयोग गरेपछि किसान यसतर्फ टिकिराख्न सक्छन् ।” भुकुन्डी खेउसिङ कृषक समूहका अध्यक्ष विमला गुरुङले अनुदान नीतिले किसानलाई कृषिमा आकर्षित गर्ने विश्वास व्यक्त गरिन ।


    प्रकाशित : बुधबार, श्रावण ७ २०८२१०:३९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार