२०८३, कार्तिक ११ गते बुधबार

धान रोप्ने उपकरण ‘राइस ट्रान्सप्लान्टर’ प्रदान

धान रोप्ने उपकरण ‘राइस ट्रान्सप्लान्टर’ प्रदान


  • मेरोभ्यूज
  • श्रावण ८, २०८२ बिहीबार

  • धान रोप्ने उपकरण ‘राइस ट्रान्सप्लान्टर’ प्रदान

    झापा । झापाको भद्रपुर नगरपालिकाले यहाँका दुई सहकारीलाई एक/एक ‘राइस ट्रान्सप्लान्टर’ मेसिन (धान रोप्ने मेसिन) प्रदान गरेको छ ।

    एनएमसी एग्रो फार्म भद्रपुर–९ लाई एउटा चार चक्के राइस ट्रान्सप्लान्टर, छ हजार थान सिड ट्रे, एउटा प्याडी सिडर र पुष्पाञ्जली महिला कृषि सहकारी संस्था भद्रपुर–१ लाई एउटा चार चक्के राइस ट्रान्सप्लान्टर र छ हजार थान सिड ट्रे प्रदान गरिएको भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिए ।

    उनका अनुसार रू. ५८ लाख ५३ हजारको लागतमा दुईवटा चार चक्के धान रोप्ने मेसिन खरिद गरी सहकारी संस्थालाई प्रदान गरिएको हो ।

    जसमा नगरपालिकाको ७५ प्रतिशत र २५ प्रतिशत लाभग्राही संस्थाको लागत सहभागिता रहेको छ । “यो मेसिनले एक घण्टामा सातदेखि आठ कठ्ठा क्षेत्रफलमा धान रोप्छ”, उनले भने, “यसले धान उत्पादनमा लागत घटेर किसान लाभान्वित हुने विश्वास छ ।”

    नगरले वितरण गरेको १२ हजार थान ‘सिड ट्रे’मा एक पटक बिउ राख्दा करिब एक सय वीसदेखि एक सय ५० बिघा क्षेत्रफलमा धान रोप्न पुग्नेछ ।

    प्रोत्साहन रकम

    नगरपालिकाले धान, मकै, फापर, कोदो, तोरी, तरकारीलगायतका कृषिउपज उत्पादनका आधारमा प्रोत्साहन रकमसमेत प्रदान गरेको छ ।

    नगरको चालु आर्थिक वर्ष २०८१/८२ को कृषि कार्यक्रममार्फत् किसानलाई प्रोत्साहन रकम प्रदान गरिएको नगरपालिकाका सहायक कृषि प्रसार अधिकृत हेमराज पन्तले जानकारी दिए ।

    तेलहन बाली प्रबर्द्धन कार्यक्रमअन्तर्गत तीन हजार नौ सय ३५ कठ्ठामा तोरीखेती गर्ने दुई सय ४३ वटा कृषक/संस्थालाई प्रतिकठ्ठा रू. पाँच सयका दरले वीस लाख उपलब्ध गराइएको कृषि प्रसार अधिकृत पन्तले जानकारी दिए ।

    त्यस्तै, आलु खेती प्रबर्द्धन कार्यक्रमअन्तर्गत यहाँका एक सय ४४ कृषक/संस्थालाई रू. १५ लाख प्रोत्साहन रकम उपलब्ध गराइएको छ ।

    छ सय ६२ कठ्ठामा आलुखेती गरेबापत प्रतिकठ्ठा रू. दुई हजारको दरले प्रोत्साहन रकम उपलब्ध गराइएको हो ।

    यस्तै, रैथाने बाली प्रबर्द्धन कार्यक्रमअन्तर्गत ५५ वटा कृषक/संस्थालाई तीन सय १५ कठ्ठामा कोदो खेती गरे बापत प्रतिकठ्ठाको रू. सात सयका दर र ५९ वटा कृषक/संस्थालाई चार सय ८८ कठ्ठामा फापरखेती गरेबापत प्रतिकठ्ठाको रू. पाँच सयको दरले गरी रू. पाँच लाख नगद प्रोत्साहन रकम उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

    यस्तै, नगर प्रमुख तरकारीखेती प्रबर्द्धन कार्यक्रम नजा अन्तर्गत न्यूनतम पाँच कठ्ठामा तरकारी खेती गर्ने ५१ जना किसानाई आवश्यक पर्ने कृषि यन्त्र–औजार, बीऊ–बिजन, मल तथा बिषादी ७५ प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ ।

    मागको आधारमा प्रति कृषक रू. १८ हजार सात सय ५० बराबरको सामग्री उपलब्ध गराइएको कृषि प्रसार अधिकृत पन्तले बताए ।

    बगर खेती कार्यक्रम उनका १२ कृषकलाई रू. पाँच लाख उपलब्ध गराइएको छ । यसबाट वीस बिघाभन्दा बढी बगरमा खरबुजा खेती गर्न उत्साहित भइ किसानले आयआर्जन गर्न सफल भएका छन् ।


    प्रकाशित : बिहीबार , श्रावण ८ २०८२११:४३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार