२०८३, कार्तिक १५ गते आइतबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई ईन्धन डिपो निर्माण गर्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई ईन्धन डिपो निर्माण गर्ने


  • मेरोभ्यूज
  • श्रावण ८, २०८२ बिहीबार

  • IMG-20250724-WA0000.jpg

    काठमाडौं । नेपाल आयल निगमले रु. छ अर्ब ५० करोडको लागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ हवाई ईन्धन डिपो निर्माण गर्ने भएको छ ।

    हाल सिनामङ्गलस्थित डिपो अन्तर्राष्ट्रिय मापदण्ड बाहिर रहेको, विमानस्थलमा सुरक्षा जोखिम बढेको र भण्डारण क्षमता विस्तार गर्न नमिल्ने भएपछि निगमले विमानस्थलको उत्तर-पूर्वी गुह्वेश्वरी क्षेत्रमा नयाँ ईन्धन डिपो निर्माण गर्ने तयारी अघि बढाएको छ ।

    त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ अध्ययन संस्थान, पूल्चोक क्याम्पसको कन्सल्टेन्सी सेवाले सो डिपो स्थानान्तरणसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बिहीबार निगमलाई हस्तान्तरण गरेको छ ।

    सिनामङ्गलस्थित निगमको कार्यालयमा रहेको हवाई ईन्धन डिपोको सभाहलमा आयोजित एक कार्यक्रममा इञ्जिनियरिङ अध्ययन संस्थानका सहायक डीन प्रा.डा. सुरज लामिछाने र सह-प्राध्यापक नारायण गौतमले डिपोका प्रमख प्रदीकुमार यादव र लेखा प्रमुख प्रचण्ड पाठकलाई हस्तान्तरण गरेका थिए ।

    उक्त प्रतिवेदनमा कुल रु. छ अर्ब ५४ करोड २९ लाखको लागतमा डिपो स्थान्तरण गरिने उल्लेख छ ।

    अब बन्ने डिपोमा पेट्रोलियमसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको पूरा पालना गरिने छ । नयाँ डिपो अमेरिकी पेट्रोलियम इन्स्टिच्युटले तोकेको सुरक्षा मापदण्डको हुने निगमले जनाएको छ ।

    डिपो स्थानान्तरणसम्बन्धी प्रतिवेदन तयार गर्न निमगले गत मङ्सिर ५ गते त्रि.वि. ईञ्जिनियरिङ अध्ययन संस्थानलाई जिम्मा दिएका थिए ।

    सरकारले गत साउन २८ गतेको मन्त्रिपरिषद् बैठकबाट सिनामङ्गलस्थित हवाई ईन्धन डिपो गुह्वेश्वरीमा स्थानान्तरण गर्ने निर्णय गरेका थिए ।

    नयाँ बन्ने डिपोमा ईन्धन भण्डारणका लागि तीन हजार किलोलिटरका पाँचवटा भर्टिकल ट्याङ्क निर्माण हुनेछन् ।

    भविश्यमा भण्डारण ट्याङ्क निर्माणका लागि थप जग्गा पनि रहनेछ । प्रमुख यादवले आगामी ५० वर्षका लागि हवाई ईन्धनको माग धान्न सक्नेगरी नयाँ डिपो निर्माण गरिने जानकारी दिएका थिए ।

    डिपो अत्याधुनिक तथा पूर्णरूपमा स्वचालित हुनेछ । हवाई ईन्धन ‘लोडिङ’ र ‘अनलोडिङ’का लागि क्रमशः छ र आठवटा वे, अन्तर्राष्ट्रिय उडानका जहाजमा ईन्धन भर्न सातवटा ‘हाइड्रेन्ट रिफ्युलर’ रहने निमगले जनाएको छ ।

    डिपोमा अग्नि सुरक्षाका लागि दुई हजार एक सय किलोलिटरका दुईवटा पानी ट्याङ्क तथा पूर्णस्वचालित अग्निनियन्त्रक प्रणाली जडान हुने प्रमुख यादवले जानकारी दिए ।

    नेपाल नागरिक उड्यान प्राधिकरणले जग्गा व्यवस्थापनको काम सम्पन्न गरिदिएमा आगामी भदौमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी आगामी मङ्सिरदेखि निर्माण प्रारम्भ गर्ने योजना रहेको प्रमुख यादवले बताए ।

    जग्गा व्यवस्थापनको काम अत्यन्त ढिलो गतिमा भइरहेको जानकारी दिँदै उनले प्राधिकरणबाट सहयोगको अपेक्षा गरिएको बताए ।

    निर्माण सुरु भएको दुई वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । वि.सं. २०८४ मङ्सिरदेखि नयाँ डिपोबाट ईन्धन भर्ने योजना रहेको प्रमुख यादवले जानकारी दिए ।

    ईञ्जिनियरिङ अध्ययन संस्थानका सहायक डीन लामिछानेले आफूहरू जस्तोसुकै परियोजनाको पनि डिजाइन गर्न सक्षम रहेको जानकारी दिए ।

    लामिछानेले निगमसँगको सहकार्यबाट संस्थानको पनि क्षमता वृद्धि हुनुका साथै निर्धारित समयमा डिपिआर हस्तान्तर गरिएको स्पष्ट पारे ।

    RS_KTM IMG_20250724_121233.jpg


    प्रकाशित : बिहीबार , श्रावण ८ २०८२११:५१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार