२०८३, कार्तिक १५ गते आइतबार

‘एक घर, एक धारा’ खानेपानी विस्तार

‘एक घर, एक धारा’ खानेपानी विस्तार


  • मेरोभ्यूज
  • श्रावण २१, २०८२ बुधबार

  • ‘एक घर, एक धारा’ खानेपानी विस्तार

     

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’ खानेपानी विस्तार भएको छ ।

    लेकगाउँ खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँका ८६ घरधुरी, एक विद्यालय र दुई सामुदायिक भवनमा शुद्ध खानेपानीको पहुँच विस्तार गरिएको हो ।

    लेकगाउँ खानेपानी आयोजना सम्पन्न भएसँगै सबै घरमा शुद्ध खानेपानीको सुविधा पुगेको निर्माण उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर रञ्तिजाले जानकारी दिए ।

    “घरघरमा निर्माण भएका धारामा पानी आउन थालेको छ, मुहानदेखि ट्याङ्की हुँदै धाराका पूर्वाधार बनाउँदा पानी सुरक्षालाई ध्यान दिइएको छ, घरघरमा खानेपनीको सुविधालाई स्थानीयवासीलाई सहज भएको छ”, अध्यक्ष रञ्तिजाले बताए ।

    गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोग र समुदायको श्रमदानबाट लेकगाउँमा खानेपानी आयोजना निर्माण भएको हो । मङ्गलबार एक समारोहका बीच नवनिर्मित खानेपानी आयोजनालाई समुदायमा हस्तान्तरण गरिएको छ ।

    निर्माण सुरु भएको यस आयोजना दुई महिनामै निर्माण सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको गोर्खा वेल्फेयर ट्रष्टका नारच्याङ खानेपानी आयोजना प्रमुख सन्तापसिंह राईले जानकारी दिए ।

    उनका अनुसार खानेपानी आयोजना निर्माणका लागि ट्रष्टको रु. ५० लाख ५४ हजार तीन सय चार र स्थानीयवासीको रु. दस लाख ९२ हजार आठ सय बराबरको श्रमदान गरी कूल रु. ६१ लाख ४७ हजार एक सय चार लगानी भएको छ ।

    आयोजनाले इन्टेक, कलेक्सन च्याम्बर, बिपिटी, आरबिटी, वितरण च्याम्बरलगायतका पूर्वाधारसँगै मुख्य र वितरण पाइपलाइनमार्फत घरघरमा धारा निर्माण गरेर खानेपानी वितरण शुरु गरेको छ ।

    आयोजनाले स्थानीय क्रान्ति आधारभूत विद्यालयमा खानेपानीको धारासँगै अपाङ्गमैत्री शौचालय निर्माण गरिदिएको छ ।

    नेपाल सरकारले लागू गरेको खानेपानी सुरक्षा योजनालाई पूर्णरुपमा पालना गरी मुहानदेखि नै खानेपानी योजनाका पूर्वाधारलाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय बनाउने प्रयास गरिएको आयोजनाका इञ्जिनियर उत्तमलाल श्रेष्ठले जानकारी दिए ।

    “हामीले खानेपानी आयोजना बनाउने मात्रै होइन, उपभोक्तालाई सुरक्षित र स्वच्छ खानेपानी दिनुपर्छ भन्ने मान्यता अनुरुप पूर्वाधार निर्माणमा गुणस्तरीयता र आयोजनाको सुरक्षालाई ध्यान दिएका छौँ”, उनले भने ।

    यस आयोजनाको मूलमा बाढीले असर नगर्ने प्रविधिलाई प्रयोग गरिएको छ भने पानी ट्याङ्कीहरुमा बाहिरबाट कुनै पनि फोहरभित्र पस्न नसक्ने गरी सावधानी अपनाइएको छ ।

    आयोजना निर्माण शुरु भएको दुई महिनाको अवधिमै सम्पन्न भइ धाराबाट पानी आउन थालेपछि स्थानीयवासीहरू उत्साहित भएका छन् ।

    गाउँको शिरानमा रहेको पानी मूलबाट ल्याएर दस हजार र छ हजार लिटरका दुईवटा पानी सङ्कलन ट्याङ्की निर्माण गरेर घरघरमा पानी वितरणको व्यवस्था मिलाइएको आयोजनाका सुपरभाइजर जमूना जिरेलले जानकारी दिए ।

    यस आयोजनामा खानेपानीमा शुद्धता कायम गर्न मूल र पानी ट्याङ्कीहरुको संरक्षण गरिएको छ ।

    योजनाका दिगोपानका लागि स्थानीय उपभोक्तालाई निर्माण कार्यमा परिचालन गर्नुका साथै मर्मत सम्भार तालिम प्रदान गरिएको छ ।


    प्रकाशित : बुधबार, श्रावण २१ २०८२०८:५८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार