सङ्खुवासभा । सङ्खुवासभामा ५० शय्याको जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले जिल्ला अस्पताललाई हालै हस्तान्तरण गरेको हो ।
अस्पताल निर्माणका लागि वि.सं. २०७५ असार २२ गते स्वामीनारायण आशिर्वाद जेभि सुनसरीसँग ठेक्का सम्झौता भएको थियो । अत्याधुनिक भवन निर्माण भएसँगै सेवा प्रवाहमासमेत सहज हुने भएको छ ।
भवन हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यले अब नयाँ भवनबाट सेवा सञ्चालन गराउनका लागि काम शुरु हुने जानकारी दिए ।
पुरानो भवनबाट नयाँ भवनमा सरेपछि जिल्ला अस्पतालमा पाइने सबै खालका सेवा पाइने प्रमुख शाक्यको भनाइ छ ।
अस्पताल भवन भ्याटसहित करिब रु. २७ करोड २७ लाख ८० हजार सात सय २३ मा निर्माण सम्पन्न भएको संघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख सुमनकुमार मिश्रले जानकारी दिए ।
भवन हस्तान्तरण भएपछि सङ्खुवासभा अस्पतालका तीनवटा सुविधा सम्पन्न ब्लक सञ्चालनमा आएको आयोजना प्रमुख मिश्रले बताए ।
जिल्ला अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापी, प्रसूतिलगायतका सेवा सञ्चालनमा छन् ।
जिल्ला अस्पतालमा सङ्खुवासभाका दसवटा स्थानीय तहका मात्रै नभएर छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही जिल्ला अस्पताल आउने गरेका छन् ।
जिल्ला अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापीलगायतका सेवा सञ्चालनमा छन् ।
यसअघि समयमा जिल्ला अस्पताल भवन सम्पन्न नहुँदा २०३३ सालमा निर्माण भएको पुरानो भवनको प्यासेज र भूइँमा बिरामीको उपचार भइरहेको थियो ।
उक्त भवन म्याद थप गरेर हस्तान्तरण गरिएको हो । अस्पतालमा दैनिक तीन सय बढी सेवाग्राही उपचारका लागि आउँछन् ।

