बागलुङ । लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स/प्लाज्मा) बनाउन थालिएको छ ।
धवलागिरि प्रादेशिक अस्पतालअघि रहेको रक्तसञ्चार केन्द्रमा सेतो रगत निर्माण गर्ने उपकरणको अभावमा अन्य केही उपकरणसमेत प्रयोगविहीन भएका थिए भने बिरामीलाई पोखरा पठाउनु पर्ने बाध्यता थियो ।
लामो समयको प्रयास र करोड खर्च गरेर प्रयोगशाला स्थापना गरिएको छ भने हाल प्रयोगशालाले सेतो रगत उत्पादन गर्न थालेको छ ।
नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यले लामो समयको प्रयास र विभिन्न निकायको सहयोगमा झण्डै एक करोड रुपैयाँ खर्चेर सुविधा सम्पन्न प्रयोगशाला स्थापना गरिएको छ ।
उनका अनुसार प्रयोगशालामा तालिम प्राप्त प्रयोगशाला प्राविधिकको समेत व्यवस्था मिलाइएको छ ।
जटिल प्रकारका बिरामीलाई आवश्यक पर्ने प्लेटलेट्स/प्लाज्मा बागलुङमै बनाउन थालेपछि धवलागिरि प्रादेशिक अस्पतालबाट रेफर हुने जटिल प्रकारका बिरामीको सङ्ख्या घट्ने अपेक्षा छ ।
विशेषज्ञ सेवा प्रदान तथा जटिल प्रकारका रोगको उपचारका लागि सेतो रगत आवश्यक पर्ने अस्पतालका प्रमुख डा. किरण तिवारीले जानकारी दिए ।
रक्तसञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स/प्लाज्मा) नपाइँदा अस्पतालले जटिल प्रकारका समस्या देखिएर सेतो रगत चाहिने बिरामीलाई पोखरा पठाउनु पर्ने बाध्यता हाल हटेको उनले जानकारी दिए ।
गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले बागलुङस्थित रक्तसञ्चार केन्द्रलाई दुई वर्षअघि दिएको रातो र सेतो रगत छुट्याउने उपकरण (कम्पानेन्ट सेन्ट्रिफ्युज) प्रयोगमा आएको छ भने प्रदेश सरकारको रु. १५ लाख र बागलुङ नगरपालिकाको रु. पाँच लाख, जैमिनी नगरपालिकाको रु. तीन लाख, गलकोट नगरपालिकाको रु. दुई लाख र बरेङ गाउँपालिकाको रु. एक लाख ५० हजार गरी रु. २६ लाख ५० हजार लागतमा अन्य उपकरण खरिद गरिएको थियो ।
उपकरण आए पनि प्रयोगशालाको पूर्वाधार निर्माण गर्न नसक्दा रोकिएको काममा बागलुङ समाज जापानले रु. १३ लाख ५० हजार सहयोग गरेपछि शुरु भएको थियो ।
रक्तसञ्चार केन्द्रको भवनमा उपकरण र अन्य सहयोग गरी झण्डै रु. एक करोड लागतमा सेतो रगत उत्पादन थालिएको केन्द्रका प्रमुख गुरुदत्त शर्माले जानकारी दिए ।
विशेषगरी डेङ्गीको सङ्क्रमण भइ सेतो रगतको मात्रा घटेका, सर्पदंश, शल्यक्रिया, अत्यधिक रक्तश्राव भएका बिरामीलाई समेत सेतो रगत आवश्यक पर्ने धवलागिरि अस्पतालका प्रमुख डा. तिवारीले जानकारी दिए ।
उनले सेतो रगतकै कारण उपचार सम्भव हुने बिरामीलाई समेत पोखरा, काठमाडौं पठाउनु पर्ने बाध्यता अन्त्य भएको बताए ।
बिरामीको अवस्था हेरेर ३० हजारभन्दा तल प्लेटलेट्स भएमा सेतो रगतको आवश्यकता हुने गर्दछ ।

