दाङ । पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्यका रूपमा ज्यामिरे दह विकास हुँदै गएको छ ।
घोराही उपमहानगरपालिका–१३ स्थित ज्यामिरे दहमा दैनिक एक सयभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।
अन्य दिनको तुलनामा भन्दा बिदाको दिनमा यहाँ आन्तरिक पर्यटक बढी आउने गरेका ज्यामिरे दह सामुदायिक उपभोक्ता समूहकी अध्यक्ष रिना बस्नेतले बताए । उनका अनुसार अन्य समयमा ८० जनाको हाराहारीमा आन्तरिक पर्यटक आउनेमा बिदाका दिनमा एक सयभन्दा बढी आउने गरेका छन् ।
दहमा पानीको ताल ३० हेक्टर क्षेत्रफलमा फैलिएको छ । ज्यामिरे दह सामुदायिक वन चार सय ८३ दशमलव पाँच हेक्टर क्षेत्रफलमा अवस्थित छ ।
पर्यटकलाई आकर्षण गर्न यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना बनाएको अध्यक्ष बस्नेतले बताए । उनका अनुसार दहलाई पर्यटकीय क्षेत्र बनाउन डुङ्गा सञ्चालन गरेको छ ।
तालमा डुङ्गासहित पानीमा पौडन मिल्ने ‘लाइफ ज्याकेट’को व्यवस्था गरेको डुङ्गा सञ्चालक आइते विकले जानकारी दिए ।
पछिल्लो समय डुङ्गा सवार गर्ने, पौडी खेल्ने र पिकनिक खान दैनिक आन्तरिक पर्यटक यहाँ आउने गरेको उनको भनाइ छ ।
“प्राकृतिकरूपमा रहेको तालको स्तरवृद्धि गरी ड्याम निर्माण गरेको छ । दह निर्माण भएसँगै सौन्दर्य हेर्न लायक बनेको पर्यटक बताउँछन् । ताल अवलोकनमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको मनोरञ्जनका लागि डुङ्गा सञ्चालन गरेको हो”, उनले भने ।
डुङ्गा सञ्चालक आइतेका अनुसार बिदा र चाडपर्वको समयमा डुङ्गा सयर गर्नेको घुइँचो लाग्ने गर्दछ ।
डुङ्गा सयर गरेबापत प्रतिव्यक्ति रु. एक सयको टिकटको व्यवस्था गरेको जनाउँदै डुङ्गा सञ्चालक आइतेले डुङ्गामा ताल घुम्न १५ देखि ४० मिनेटसम्म लाग्ने बताए ।
ज्यामिरे दह पर्यटकीय क्षेत्रका रूपमा विकास भएसँगै यहाँको व्यापार पनि बढ्न थालेको उनको भनाइ छ ।
दहमा दाङसहित बुटवल, नेपालगञ्ज, बर्दियाबाट पर्यटक आउने गरेका डुङ्गा सञ्चालक आइतेले जानकारी दिए ।
दहको विकासका लागि प्रतिक्षालय, खानेपानीलगायत पूर्वाधार विकास गर्न सके पर्यटकलाई सहज हुनुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने घोराही–१० की सनम डिसीले जानकारी दिइन ।
“प्रतिक्षालय नहुँदा अत्यधिक गर्मी र पानी पर्दा बस्न समस्या हुने गरेको छ । यस क्षेत्रको विकास गर्न सके पर्यटकीय सम्भावना छन् । स्थानीयको आयस्रोत वृद्धि हुनुका साथै रोजगारीका अवसर सिर्जना हुनेछन्”, उनले भनिन ।
यहाँको पर्यटन प्रवर्द्धनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले पहल गर्नुपर्नेमा घोराही–१५ की रेखा केसीले जोड दिइन । वर्षा यामको समय भएकोले यहाँको सौन्दर्य हेर्न, डुङ्गामा सयर गर्न आन्तरिक पर्यटक आउने भएकोले दहलाई थप व्यवस्थित गर्नुपर्ने उनले जानकारी दिए ।

