२०८३, कार्तिक १५ गते आइतबार

फेवाताल किनारमा तीन सय ६० सीमा स्तम्भ गाडिए

फेवाताल किनारमा तीन सय ६० सीमा स्तम्भ गाडिए


  • मेरोभ्यूज
  • श्रावण २५, २०८२ आइतबार

  • फेवाताल किनारमा तीन सय ६० सीमा स्तम्भ गाडिए

     

    कास्की । पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल घरमा तीन सय ६० वटा सीमा स्तम्भ(पिल्लर) गाडिएका छन् ।

    सर्वोच्च अदालतको आदेशानुसार फेवातालको पुनः सीमाङ्न गरी अहिले सीमा स्तम्भ गाड्ने काम भइरहेको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले जानकारी दिए ।

    पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल सरकारको संयुक्त पहलमा गत जेठ १७ गतेदेखि तालको किनारमा सीमा स्तम्भ गाड्न शुरु भएको थियो ।

    फेवातालको भकुन्डे माछा पोखरी क्षेत्रमा आज पिल्लर गाड्ने कार्यको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निरीक्षणसमेत गरेको छ ।

    निरीक्षणका क्रममा उनले फेवाताल संरक्षणका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको आदेशाानुसार महानगरपालिकाले सम्बद्ध निकायहरूसँग समन्वय गरी आवश्यक कार्यहरू गरिरहेको बताए ।

    ताल घरमा सीमा स्तम्भ गाड्ने कार्यमा खटिएका सर्वेक्षक, प्राविधिक, नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उनले हौसला प्रदान गरेको छ ।

    “एक ऐतिहासिक कार्यको साक्षीका रूपमा हामी यहाँ छौँ । यसमा सबैको योगदान अतुलनीय रहेको छ । पोखराको गहनाका रुपमा रहेको फेवातालको संरक्षण गर्दै यसलाई सौन्दर्यकरण गर्नका लागि महानगर प्रतिवद्ध छ”, आचार्यले भने ।

    महानगरका अनुसार पहिलो चरणमा ताल घरमा सीमा स्तम्भ गाड्ने र दोस्रो चरणमा थप काम सुरुवात गर्ने योजना छ । पछिल्लो अध्ययन अनुसार तालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर (१२ हजार चार सय ६८ रोपनी ३ पैसा ३ दाम) कायम भएको छ ।

    फेवातालको चार किल्लामा एक हजार ५५ पोलहरू गाडिनेछन् । यसले पोखराको पर्यावरण, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउन ऐतिहासिक महत्त्व राख्ने विश्वास गरिएको महानगर प्रमुख आचार्यले बताए ।

    सर्वोच्च अदालतले वि.सं. २०८० असार ४ गते फेवाताल किनारदेखि ६५ मिटरसम्मका सबै संरचना हटाउन नेपाल सरकार, प्रदेश सरकार र पोखरा महानगरपालिकाको नाममा उत्प्रेषणयुक्त परमादेश जारी गरेका थिए ।

    वर्षायामको उच्चतम पानीको विन्दुदेखि ६५ मिटरसम्मको क्षेत्रलाई मध्यवर्ती हरियाली क्षेत्र घोषणा गरेर सबै अस्थायी र स्थायी संरचना हटाउन आदेश गरिएको थियो ।


    प्रकाशित : आइतबार, श्रावण २५ २०८२०७:२०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार