२०८३, कार्तिक ११ गते बुधबार

तामाखानी उत्खननका लागि अध्ययन शुरु

तामाखानी उत्खननका लागि अध्ययन शुरु


  • मेरोभ्यूज
  • श्रावण २८, २०८२ बुधबार

  • तामाखानी उत्खननका लागि अध्ययन शुरु

     

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन शुरु भएको छ ।

    खानी तथा भू-गर्भ विभागबाट अनुमति पाएको कम्पनी एम/एस दोङयी मिनरल्स प्रा.लि.ले तामाखानीको खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्न लागेको हो । मालिका गाउँपालिका-३ र ४ को सिमानामा तामाखानी छ ।

    मालिका गाउँपालिका-३ का वडाध्यक्ष मोतिप्रसाद बुढाथोकीका अनुसार भू-गर्भविद्हरुको टोलीले खानीमा तामाको मात्रा पहिचान र उत्खननका क्रममा हुनसक्ने वातावरणीय प्रभाव तथा त्यसको असर न्यूनीकरणका उपायका विषयमा अध्ययन गर्नेछ ।

    प्रभावित क्षेत्रका बासिन्दाहरुको सुझाव सङ्कलनका लागि कम्पनीले गत हप्ता ओखरबोटमा सार्वजनिक सुनुवाइ गरेको थियो ।

    कम्पनीले मङ्गलबार सात दिने सार्वजनिक सूचना पनि जारी गरेर प्रभावित क्षेत्रका बासिन्दा तथा सङ्घ/संस्थाबाट सुझाव माग गरेको छ ।

    स्थानीयले खानी उत्खननका लागि अध्ययन थालिएकोमा खुसी व्यक्त गरेका छन् । वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिन सुझाव दिएका छन् ।

    स्थलगत अध्ययनका लागि आएका भू-गर्वविद् रोनित पौडेलले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन पारित भएपछि खानीमा तामाको खोज र अनुसन्धान गरिने बताए । खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।

    मालिका गाँउपालिका-३ का ७२ वर्षीय विसराम पटेलका अनुसार ओखरबोटको खानीबाट वि.सं. २०२८ सम्म स्थानीय प्रविधिको प्रयोग गरी तामा निकाल्ने गरिन्थ्यो । प्रविधिको अभाव र आम्दानीभन्दा बढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामाखानी बन्द भएको पटेलले बताए ।

    तामाखानीमा दैनिक दुई सयभन्दा बढी कामदर खटिनुका साथै प्रत्येक दिन सात/आठ धार्नीसम्म तामा निकाल्ने गरिएको पटेलको सम्झना छ ।

    तामाखानीमा दुईवटा मुहान छन् । ती मुहानहरुको लम्बाइ दुई सय ५० देखि पाँच सय मिटरसम्म रहेको छ । यहाँ अझैसम्म पनि तामाका धाउ देख्न सकिन्छ । दुई सय मिटरभित्रसम्म जान सकिने तामाखानीको सुरुङ छन् ।


    प्रकाशित : बुधबार, श्रावण २८ २०८२०९:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार