धनुषा । जनकपुरधामलाई वैवाहिक गन्तव्यस्थलका रूपमा विकास गर्ने उद्देश्यसहित ऐतिहासिक मणिमण्डप क्षेत्रको सौन्दर्यीकरण अन्तिम चरणमा पुगेको छ ।
सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरधामका प्रमुख विनोद यादवले करिब चार बिघा क्षेत्रफलमा मणिमण्डप क्षेत्रको सौन्दर्यीकरणको काम करिब ९५ प्रतिशत पूरा भएको जानकारी दिए ।
रु. १८ करोड ९१ लाखभन्दा बढीको लागतमा जनकपुरधामको मणिमण्डपसहित यहाँका पाँच स्थानमा काम भइरहेको त्यसमध्ये बढी लागतमा धार्मिक पर्यटकीयस्थल मणिमण्डप सौन्दर्यीकरण भइरहेको उनले बताए ।
निर्माण सम्पन्न भएपछि यसलाई जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गरिने जनाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–१३ का वडाध्यक्ष जितबहादुर राउतले ऐतिहासिक महत्त्वको मणिमण्डपलाई विश्वका हिन्दू धर्मावलम्बीका लागि आकर्षक वैवाहिकस्थल बनाउन थालिएको र त्यसक्रममा सुविधा सम्पन्न प्यालेस भवन निर्माण भएको बताए । उक्त भवनमा ७० जना अटाउने हलसहित २१ वटा कोठा छन् । साथै यहाँ दुईवटा सुविधा सम्पन्न २४ कोठे धर्मशाला, विवाहमण्डप र दुईवटा पवेलियम रहेका छन् ।
आयोजना आर्थिक वर्ष २०७४/७५ देखि सुरुवात गरेकोमा असारभित्रमा सम्पन्न गर्ने योजना रहेको निर्माण कम्पनी रविना कन्स्ट्रक्सनका इञ्जिनियर निर्मलकुमार यादवले सोहीअनुसार अन्तिम चरणका काम भइरहेका बताए ।

