
काठमाडौं । श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरुको श्रम वैधानिकिकरण कार्य श्रावण ३० गतेबाट शुरु भएको छ ।
नेपाली दूताबास रियादले शुक्रबार एक समारोहको आयोजना गरी आठ बर्षदेखि रियादमा कार्यरत अजय दंगालको बायोमेट्रिक लिइ राजदूत डा. नरेशबिक्रम ढकालले श्रम वैधानिकिकरणलाई औपचारिकता दिएका छन् ।
कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम स्वीकृति बिना नै विदेशमा कार्य गर्ने श्रमिकलाई वैधानिकिकरण गर्ने अभियानमा नेपाली दूताबास साउदी अरेबियाको प्रयासलाई धन्यवाद दिएको छ ।
श्रम स्वीकृतिको अभावमा वैदेशिक रोजगारमा रहेका श्रमिकहरु आफ्नो मुलुक फर्किन नसक्ने अवस्थाको सिर्जना हुनु मानवीय नाताले समेत उपयुक्त नभएकोले वैधानिकिकरण अभियान शुरु गर्नु परेको जानकारी दिए ।
साउदी अरेवियासँग द्विपक्षीय श्रम समझदारी पत्रमा हस्ताक्षर हुने जानकारी दिँदै मन्त्री भण्डारीले अवको सेवाहरु प्रविधिमा आधारित रहने बताए ।
मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले व्यक्तिगत, कानूनी वा जानकारीको अभावजस्ता विविध कारणले श्रम स्वीकृतिको अभावमा राज्यबाट प्रदान हुने सेवाबाट कुनै पनि नेपाली बञ्चित भएकोले दूताबासबाटै श्रम वैधानिकिकरण कार्य आवश्यक रहेको औल्याए ।
राजदूत डा. ढकालले श्रम वैधानिकिकरण गर्ने कार्यलाई अभियानकै रुपमा सञ्चालन गरिने र यस कार्यमा विभिन्न सङ्घ/संस्थाहरुको समन्वय र सहकार्यको लागि अनुरोध समेत गरेका छन् ।

