२०८३, कार्तिक १२ गते बिहीबार

चार दशकपछि पशुपति क्षेत्रका टोल-टोलमा लाखे नाच

चार दशकपछि पशुपति क्षेत्रका टोल-टोलमा लाखे नाच


  • मेरोभ्यूज
  • भाद्र ३, २०८२ मंगलबार

  • चार दशकपछि पशुपति क्षेत्रका टोल-टोलमा लाखे नाच

     

    काठमाडौँ । चार दशकपछि पशुपति क्षेत्रका टोल-टोलमा लाखे नाचको रौनकता छाएको छ ।

    विगत ४५ वर्षदेखि हुन नसकेको ऐतिहासिक लाखे झ्यालिन्छ नाच यस वर्ष श्रावण शुक्ल पञ्चमीदेखि शुरू भएपछि लोप हुन लागेको पशुपति क्षेत्रको एउटा जात्राले पुनर्जीवन पाएको छ ।

    पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले स्थानीयवासीको साथ र सहयोगले नै यो जात्रालाई पुनर्जीवन दिन सकिएको जानकारी दिए ।

    जयबागेश्वरी मन्दिर, देवपत्तनमा ऐतिहासिक लाखे झ्यालिन्छ नाचको पुनरुत्थान श्रावण शुक्ल पञ्चमीमा पुनर्जीवन दिइएको हो ।

    कोषका साथै दथु त्वाः बाजं खलः र स्थानीय संस्कृति तथा सम्पदा प्रेमीहरूको सक्रियताबाट यो पौराणिक र नेवारी संस्कृति झल्काउने नाचलाई पुनर्जीवन दिइएको स्थानीय श्रीकृष्ण डङ्गोलले बताए ।

    श्रावण शुक्ल पञ्चमीदेखि भाद्र कृष्ण सप्तमीसम्म १७ दिन यो जात्रा सञ्चालन हुने जनाइएको छ ।

    जात्रा शुभारम्भका दिन जयवागेश्वरीबाट पशुपतिनाथ मूल मन्दिरसम्म लाखे नचाएर जात्रा गरिएको छ ।

    पशुपति क्षेत्रका सबै टोल एवं घर-घरमा लैजान चाहनेका लागि प्रदर्शन गर्ने तयारी गरिएको छ । जात्रा चलाउनेमा प्रायः युवा, युवतीको बाहुल्यता देखिन्छ ।

    पशुपति क्षेत्रमा प्रस्तुत गरिने लाखे नाचले भूतप्रेत नलागोस्, मरेका आत्माले दुःख नदिऊन् र मृतकको आत्माले चीर शान्ति पाओस् भन्ने कामनाका साथ स्थानीयहरूको अनुरोधमा घर-घरमा प्रदर्शन गरिने प्रचलन रहिआएको छ ।

    विगतमा ४५ वर्षसम्म रोकिएको यो ऐतिहासिक परम्परालाई अब कहिल्यै लोप हुन नदिने कोष, स्थानीयवासी एवं आयोजक संस्था दथु त्वाः बाजं खलः र स्थानीय संस्कृति तथा सम्पदा प्रेमीहरूको प्रतिबद्धता छ । यो जात्रासँगै पशुपति क्षेत्रमा अन्य जात्रा पनि क्रमशः हुने परम्परा छ ।


    प्रकाशित : मंगलबार, भाद्र ३ २०८२११:२१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार