२०८३, कार्तिक १५ गते आइतबार

ओझेलमा ढङ्ढङ्गे झरना

ओझेलमा ढङ्ढङ्गे झरना


  • मेरोभ्यूज
  • भाद्र ४, २०८२ बुधबार

  • ओझेलमा ढङ्ढङ्गे झरना

     

    फुङ्लिङ । सिदिङ्बा गाउँपालिकाको सीमा क्षेत्रमा रहेको ढङ्ढङ्गे झरना अझैपनि आम दृष्टिबाट टाढा छ ।

    सिदिङ्वा-५ लिम्बुदिन र ६ मेहेलेको बीचमा रहेको यो झरना आफैंमा बाजाको ताल जस्तो लाग्छ । यही विशेषताका कारण यस झरनालाई स्थानीयले ‘ढङ्ढङ्गे’ नामकरण दिएका हुन, जहाँ जलको बहाव र चट्टानको सङ्घर्ष सङ्गीत बनिन्छ ।

    स्थानीय असलबहादुर राईले भने, “पहिला त फावाखोला भन्ने गरिन्थ्यो, अहिले ढङ्ढङ्गे भनेर चिनिन्छ । बाजा बजाए जस्तो आवाज आउँछ ।”

    ढङ्ढङ्गे झरनाको प्राकृतिक सुन्दरता यति अद्वितीय छ, कि एक पटक पुग्ने जो कोहीको स्मृतिमा अमिटरूपमा बस्छ । पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको सङ्ख्या विस्तारै बढ्दै गएको छ ।

    स्थानीय अब बाह्य पर्यटक पनि आकर्षित हुने आशामा छन् । स्थानीय नयाँ सम्भावनाको ढोका खुल्ने अपेक्षामा बसेका छन् । “हामी त पर्खिराखेका छौँ । बाहिरबाट पनि पर्यटक आएर आम्दानीको स्रोत बनोस् भनेर ।” स्थानीय नारायणप्रसाद राई बताउँछन् ।

    झरनामा पुग्ने आन्तरिक पर्यटकको अनुभव विशेष हुन्छ । दृश्य सुन्दर मात्र होइन, आत्मामा शान्ति दिने किसिमको अनुभूति उनीहरूले व्यक्त गरेका छन् । “नाम सामान्य लाग्यो तर दृश्य हेर्दा मुखमै मुस्कान आयो । यस्तो प्राकृतिक उपहार देख्दा मन रमायो ।” अन्तरिक पर्यटक साहारा लिम्बूले बताए ।

    झरनालाई पर्यटकीय क्षेत्र बनाउका लागि स्थानीय सरकार पनि सक्रिय देखिन्छ । झरनासम्म पुग्न ढुङ्गाका गोरेटो बाटा बनाइएका छन्, होमस्टे निर्माणको तयारी भइरहेको छ ।

    आगामी नीति तथा कार्यक्रममा ढङ्ढङ्गे झरनालाई विशेष प्राथमिकता दिइएको सिदिङवागाउँपालिका उपाध्यक्ष बन्दना कडरीयाले बताए ।

    तर अझै पनि झरनाको आधिकारिक लम्बाइमापन गरिएको छैन । वैज्ञानिक दृष्टिकोणले यसको अध्ययन आवश्यक छ । प्रचार-प्रसारलाई तीव्रता दिन सकिएमा यो झरना जिल्लाको अर्को पर्यटकीय परिचय बन्न सक्छ ।

    जिल्ला सदरमुकाम फुङ्लिङ बजारदेखि पाँचथरको गणेश चोक हुँदै करिब तीन घण्टामा साब्लाखु भञ्ज्याङ पुग्न सकिन्छ । साब्लाखुदेखि करिब ४० मिनेटपछि ढङ्ढङ्गे झरना सम्मपुग्न सकिन्छ ।

    झरनासम्म नै सहजरुपमा मोटर बाटो विस्तार भएकोले सवारीसाधन सहजरुपमा झरनासम्म पुग्दै आएको छ । ताप्लेजुङ, जहाँ प्रत्येक पहाडको ढिस्को र खोल्साको गर्जनमा पर्यटकीय सम्भावनाको ध्वनि लुकेको छ । मिक्वाखोलाको फुङफुङगे झरनाको चर्चा धेरैले सुनेका छन् ।


    प्रकाशित : बुधबार, भाद्र ४ २०८२१०:०८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार