बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको दुर्गम ग्रामीण बस्तीमा इन्टरनेटको पहुँच विस्तार भएको छ ।
सञ्चारको सहज पहुँच नपुगेका गाउँ बस्तीमा तीव्र गतिको फाइबर इन्टरनेट सेवा पुगेपछि स्थानीयवासी खुशी भएका छन् ।
चालु आर्थिक वर्षमा रघुगङ्गा गाउँपालिका–६ पाखापानीको रायखोर, मूलपानी र उल्लेरीलगायत बस्तीमा इन्टरनेटको सुविधा पुगेको हो ।
यसवर्ष पालिकाबाट प्राप्त भएको बजेटबाट वडा कार्यालयले रु. सात लाख बजेटको इन्टरनेट विस्तार योजना छनोट गरेका थिए ।
समुदायको थप रु. सात लाखको साझेदारीमा रायखोर, मूलपानी क्षेत्रका ५८ घरधुरीमा इन्टरनेटको पहुँच पुर्याइएको उपभोक्ता समितिका अध्यक्ष ओमकुमार शेरपुजा मगरले जानकारी दिए ।
इन्टरनेट विस्तारका लागि गाउँसम्म करिब साढे सात किलोमिटर दूरीमा प्राइम नेटवर्क प्रा.लि.ले मुख्य फाइबर तार तानेपछि पालिका र समुदायको साझेदारीमा इन्टरनेट वितरण तार र इन्टरनेटका मेसिन तथा उपकरण खरिद गरिएको उनले बताए ।
वडा कार्यालयले तीन वर्षदेखि शुरु गरेको ग्रामीणबस्तीमा इन्टरनेट विस्तार अभियानले यसवर्ष पूर्णता पाएको छ ।
पहिलो र दोस्रो वर्षमा रु. ६ लाख ५० हजारका दरले बजेट विनियोजन भएको र यस वर्ष रु. सात लाख बजेट गरी कूल २० लाख बजेट खर्चेर वडाका टोलबस्तीमा इन्टरनेटको पहुँच र सुविधा विस्तार गरिएको वडाध्यक्ष मनकुमार शेरपुजा मगरले जानकारी दिए । यस वडाका सबै बस्ती र टोल इन्टरनेटको पहुँचमा पुगेको उनले बताए ।
“कतिपय टोलबस्तीमा मोबाइल फोनको पनि सहज पहुँच थिएन, हामीले आधुनिक सूचना प्रविधिको पहुँचलाई टोल टोलमा पुर्याउन अभियान थालेका थियौँ, यस वर्ष वडाभरी नै इन्टरनेटको पहुँच पुर्याउने योजनाले पूर्णता पाएको छ ।
सरकारी बजेटकै हाराहारीमा समुदायकोसमेत साझेदारीले योजनाले पूर्णता पाउन सकेको हो”, वडाध्यक्ष शेरपुजा मगरले भने ।
उनका अनुसार पाखापानीका विभिन्न टोलबस्तीका करिब तीन सय घरमा इन्टरनेट जडान भइसकेको छ ।
सेवा प्रदायक कम्पनीका म्याग्दी शाखा प्रमुख गोविन्द पौडेलले हरेक घरमा ५० एमबिपिएसदेखि तीन सय एमबिपिएस क्षमताको इन्टेरनेट सुविधा पुगेको बताए ।
भौगोलिक विकटता र वनजङ्गलका कारण ग्रामीण भेगमा इन्टरनेट विस्तार गर्न जटिल रहेको अवस्थामा कम्पनीले ग्रामीण क्षेत्रलाई प्राथमिकता दिएर सेवा विस्तार गर्ने योजनामा सहकार्य गरेको उनको भनाइ छ ।
इन्टरनेटको क्षमताअनुसार वार्षिक रु. दस हजारदेखि रु. १३ हजार सात सयसम्म शुल्क निर्धारण गरिएको छ ।
रघुगङ्गा गाउँपालिका–८ मा समेत यस वर्ष इन्टरनेट विस्तार भएको छ । मोबाइल फोनको समेत सहज पहुँच नभएका गाउँबस्तीमा इन्टरनेट पुगेपछि स्थानीयबासीमा खुशियाली छाएको छ ।
चालु आ.व.मा गाउँपालिकाबाट विनियोजन भएको रु. नौ लाख बजेट र समुदायको रु. नौ लाखको लागत साझेदारीमा यस वडाको घ्यासीखर्क, चौरखानी, दुवाढी, ढाँड, पात्लेखर्क, खरिबोट बस्तीका एक सय ३४ घरमा इन्टरनेट जडान गरिएको इन्टरनेट विस्तार उपभोक्ता समितिका अध्यक्ष केशव छन्त्यालले जानकारी दिए ।
बिहुकोट इन्टरनेट कम्पनीले गाउँसम्म फाइबर नेटको तार तानेपछि गाउँपालिका र समुदायको साझेदारीमा वितरण तार विस्तार र इन्टरनेटका उपकरण खरिद गरिएको थियो ।
विद्यालय र स्वास्थ्य संस्थामा समेत इन्टरनेट जडान गरिएको छ । विद्यालयमा इन्टरनेट सुविधा पुगेपछि प्रविधिमैत्री शिक्षण सिकाइका लागि सहज हुने अपेक्षा गरिएको छ ।
यस्तै, कार्यालय प्रयोजन र व्यक्तिगत काममा मोबाइल डाटाबाट इन्टरनेटको प्रयोग गर्नुपर्ने बाध्यता र झन्झटसमेत हटेको छ ।

