कैलाली । यहाँको धनगढी उपमहानगरपालिका–११ बाँसखेडाका परशुनारायण चौधरीले विगत १४ वर्षदेखि व्यावसायिक बङ्गुरपालन गर्दै आएको छ ।
चौधरीको फार्ममा हाल भालेपोथी गरेर २७ वटा बङ्गुर छन् । उनको फार्मबाट वार्षिक रु. ३० लाख बराबरको बङ्गुरका पाठापाठी बिक्री हुन्छ ।
खर्च कटाएर औसतमा वार्षिक रु. १२ लाख आम्दानी हुने गरेको उनले जानकारी दिए । व्यवसाय फस्टाउँदै गएपछि आम्दानी पनि राम्रै हुन थालेको उनले बताए ।
बङ्गुरको पाठापाठी हुर्काएर बिक्री गर्ने उमेर पुग्न करिब एक महिना लाग्छ । एउटा पाठा वा पाठी रु. छ हजारमा बिक्री गर्ने गरेको छ ।
बङ्गुरपालनबाट गरेको कमाइले उनले गाउँमा इँटाभट्टा र मसला उद्योग सञ्चालन गरेको बताए । “बङ्गुरपालन राम्रै फापेको छ”, उनले भने, “यो व्यवसायको कारोबार बढ्दै गयो र फाइदा हुँदै गयो, अहिले गाउँमा सानो इँटाभट्टा र मसला उद्योग सञ्चालन गरेको छु, जसबाट घर परिवारका सदस्यले काम पाएका छन् ।”
चौधरीले धनगढीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट यसै वर्ष रु. ९० हजार अनुदान प्राप्त गरेको छ । अनुदान रकमले व्यवसाय गर्न अझै सहज भएको उनले जानकारी दिए । उनी सफल कृषकका रुपमासमेत पुरस्कृत भइसकेका छन् ।
शुरुका वर्षमा मासु बिक्री गरेका उनले मासुका लागि बजार नपाएपछि पाठापाठी बिक्री गर्न थालेको बताए । किसानलाई व्यवसाय सहजताका लागि सरकारी तवरबाट कोल्डस्टोर, बधशाला स्थापना गरिदिए अझै सहज हुने उनको भनाइ छ ।

