२०८३, कार्तिक १३ गते शुक्रबार

कफीको बिरुवा बेचेर रु. साढे १३ लाख कमाई

कफीको बिरुवा बेचेर रु. साढे १३ लाख कमाई


  • मेरोभ्यूज
  • भाद्र ११, २०८२ बुधबार

  • कफीको बिरुवा बेचेर रु. साढे १३ लाख कमाई

     

    इलाम । माङसेबुङ गाउँपालिका–२ रत्नबस्तीका किसान राजेश राईले कफीको बिरुवा बेचेर मनग्य आम्दानी गर्दै आएको छ । उनले यस वर्ष मात्र कफीका बिरुवा बिक्रीबाट रु. १३ लाख ५० हजार आम्दानी गरेको छ ।

    पाँच वर्षअघि ‘वाङदेल नर्सरी सेन्टर’ स्थापना गरी कफीका बिरुवा उत्पादन गर्दै आएका राई माङसेबुङकै एक असल बिरुवा उत्पादक किसानका रूपमा परिचित छन् ।

    फेवाखोला नजिकै गजुरमुखी–इभाङ–चतुरे सडकको छेउमा पाँच रोपनी जग्गामा बिरुवा उत्पादन गर्दै आएको छ । यस वर्ष उनले ४५ हजार कफीका बिरुवा बिक्री गरेको छ ।

    कफीको बिरुवा उत्पादन गर्न थालेपछि नर्सरीमै बिरुवा लिन आउने गरेको उनले बताए ।

    कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकोले कफीको बिरुवा उत्पादनलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।

    कफीको बिरुवा इलामकासँगै पूर्वको सङ्खुवासभा र भोजपुर जिल्ला तथा छिमेकी मुलुक भारतको सिक्किमसम्म लैजाने गरेका छन् । बिरुवा विभिन्न पालिका, वडा कार्यालय, फार्म र किसानले खरिद गरी लैजाने गरेको उनको भनाइ छ ।

    “बिरुवा उत्पादन गर्न खासै धेरै मेहेनत र समय पनि लाग्दैन”, उनले भने, “यहाँ उत्पादित बिरुवा इलाम तथा बाहिरसमेत जाने गरेको छ ।” कफीको बिरुवा प्रतिगोटा रु. ३० का दरले नर्सरीबाटै बिक्री भएको उनले जानकारी दिए ।

    राईले नर्सरीमा कफीमात्र होइन, अरु वनपैदावार बिरुवासमेत उत्पादन गर्दै आएको छ । उनको नर्सरीमा लाम्पाते, सिमल, पानीसाज, खमारी, उतिसलगायत वनपैदावार र आँप, लिची, कटहरलगायत फलफूलका बिरुवा पनि उत्पादन हुँदै आएको छ ।

    वनपैदावार र फलफूलको बिरुवा प्रतिगोटा रु. ४० का दरले नर्सरीबाटै बिक्री हुने गरेको उनले बताए ।

    “कफीको बिरुवालाई पहिलो प्राथमिकता दिएको छु । अन्य वनपैदावार र फलफूलका बिरुवा पनि छन्”, उनले भने, “एकै ठाउँमा आफूलाई चाहिएको जति बिरुवा पाइने भएपछि ग्राहकलाई पनि सजिलो भएको छ ।”

    बिरुवा स्याहारसुसार तथा उखेल्ने र बिक्री गर्ने काममा राजेश आफैँ खट्नुहुन्छ । छोटो समयमा धेरै आम्दानी गर्न सकिने भएकाले बिरुवा उत्पादनमा जोड दिएको उनको भनाइ छ ।

    उनको नर्सरी फार्मलाई कोशी प्रदेश सरकारको पनि राम्रै सहयोग मिलेको छ । दुई वर्षअघि कृषि ज्ञान केन्द्र इलाममार्फत नर्सरी प्रवर्द्धनका लागि उनले लागत साझेदारीमा रु. दुई लाख अनुदान पाएको थियो ।

    साझेदारीमा व्यवस्थित टनेल निर्माण गरिएको उनले बताए । कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्क अनुसार इलाममा एक सय ३५ हेक्टर क्षेत्रमा कफीको व्यावसायिक खेती हुँदै आएको छ ।


    प्रकाशित : बुधबार, भाद्र ११ २०८२१०:४०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार