२०८३, कार्तिक १५ गते आइतबार

पद यात्राका लागि उत्कृष्ट गन्तव्य बन्दै ‘बुकी पाटन’

पद यात्राका लागि उत्कृष्ट गन्तव्य बन्दै ‘बुकी पाटन’


  • मेरोभ्यूज
  • भाद्र १३, २०८२ शुक्रबार

  • पद यात्राका लागि उत्कृष्ट गन्तव्य बन्दै ‘बुकी पाटन’

     

    बागलुङ । हरिया अजङ्गका पहाड । त्यही पहाडका काखमा समथर मैदान । समुद्री सतहबाट चार हजार मिटरभन्दा अग्ला पहाडमा हिजोआज पद यात्राका लागि जाने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यो याममा दैनिकजसो पर्यटक पद यात्रा गर्दै पहाडतर्फ उक्लिरहेका देखिन्छन् ।

    अहिले बागलुङको ‘बुकी पाटन’ पनि पदयात्राका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ ।

    पाँच वर्ष अगाडिसम्म गोठाला र वस्तुभाउ मात्रै बस्ने बुकी पाटनमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहल-पहल बढेको हो ।

    उच्च पहाडी हावापानी, शान्त वातावरण र मनमोहक दृश्यले पर्यटकलाई आकर्षित गरेको छ । गाउँबाट होस् वा शहरबाट युवाहरूको जमातले बुकी पाटन उक्लिने पदमार्गमा चहलपलह देखिन थालेको स्थानीय बताउँछन् ।

    सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट बुकी पाटनको प्रचार-प्रसार हुन थालेपछि हिजोआज पद यात्रा गर्ने पर्यटकको सङ्ख्या बढेको ढोरपाटन नगरपालिका-९ का गुणबहादुर बुढामगरले जानकारी दिए ।

    बुकी पाटनमा पुग्ने पर्यटकले नजिकैबाट दर्जनौँ हिमशृङ्खला, गोठाले जीवन देख्न र अनुभूति गर्न पाउने, गर्मीयाममा शीतलता हुने भएकाले युवाहरूमा पद यात्रा (ट्रेकिङ) मोह बढेको उनको भनाइ छ ।

    नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा पर्ने बुकी पाटन गत वर्षदेखि बढी चर्चामा आएको हो ।

    ढोरपाटन उपत्यकाबाट करिब साढे चार घण्टाको पैदल यात्रापछि पुग्न सकिने बुकी पाटन तीन हजारदेखि चार हजार पाच सय मिटरको उचाइसम्म पर्दछ ।

    बुकी पाटन चढ्ने याम असारदेखि असोजसम्म मानिने बुढामगरले जानकारी दिए ।

    यो याम बढी मनमोहक हुने भएकाले पद यात्रामा आउने पर्यटक बढेको बताउँदै उनले यसअघि ढोरपाटन आउने पर्यटक उपत्यकाबाटै फर्किने गरेकोमा हिजोआज बुकी पाटनसम्म उक्लिने गरेका जानकारी दिए ।

    आफूहरू बर्खामा वस्तुभाउ लिएर बुकी पाटन उक्लिने र हिउँदमा बेसी झर्ने गरेको स्मरण गर्दै उनले पहिले बाहिरी मान्छे खास्सै नजाने गरेकोमा पछिल्लो समय यो याममा दैनिक ५० जना युवा बुकी पाटनसम्म जाने गरेको उल्लेख गरे ।

    उनले भने, “अहिले घुमफिर गर्ने चलन आयो, युवाहरू खुब रमाइलो गर्दै बुकी चड्छन् । स्टिलका लौरा समातेका, झोला बोकेका, फोटो खिच्दै हिँड्छन् । हामीलाई देखे भने पुराना पुराना कुरा सोध्छन्, जिज्ञासा राख्छन् । कोहीले हाम्रो फोटो खिच्छन् र सञ्चारमाध्यममा देखाउँछु भन्छन् । घुम्न आउनेहरूलाई रमाइलो नै हुन्छ होला, हामीलाई पनि रमाइलो लाग्छ ।”

    ढोरपाटन उपत्यकाका होटल व्यवसायी धीरेन्द्र घर्ती मगरले पछिल्लो समय बुकी पाटन चर्चामा आएको बताए । पहिले गुमनाम रहेको बुकी पाटनमा अहिले दैनिकजसो पर्यटक ‘ट्रेकिङ’ जाने गरेका उनको भनाइ छ ।

    पोखरा, काठमाडौं, बुटवल, चितवनलगायत ठाउँबाट युवाहरू पद यात्रा गर्न आउने गरेका घर्तीले बताए ।

    “बुकी पाटन मनमोहक र आकर्षित छ, यतिका समयसम्म ओझेलमा थियो, अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रचार हुँदा धेरै पर्यटकको आगमन भएको छ ।

    पहिले उपत्यकाबाट फर्किने पर्यटकहरू अहिले बुकी पाटन उक्लिने गरेका छन्”, उनले भने, “ढोरपाटन आउने धेरैजसोले बुकी पाटन जाने तयारी गर्छन् ।”

    चितवनका रेवणकुमार शाक्यले तराईमा गर्मी हुँदा शीतलताका लागि बुकी पाटन पद यात्रामा आएको बताए । ढोरपाटनसम्म गाडीमा आएको सुनाउँदै त्यसभन्दा माथि पदयात्रा गरेको उनको भनाइ छ ।

    बुकी पाटन जाँदा बाटोमा धेरै पदयात्रीहरू देखेको सुनाउँदै आफूहरू पनि पाँच जनाको टोली आएको शाक्यले जानकारी दिए ।

    स्थानीय सरकारले बुकी पाटन पुग्ने पदमार्गलाई थप व्यवस्थित र आकर्षित बनाउनुपर्नेमा उनले जोड दिए ।

    पछिल्लो समय बुकी पाटन जाने पर्यटकको सङ्ख्या बढ्दै गएपछि गण्डकी प्रदेश सरकारले चालु आ.व.मा विनियोजन गरेको रु. वीस लाखमा पदमार्गलगायत पूर्वाधार निर्माण छ ।

    ढोरपाटन नगरपालिका–९ पाखाथरबाट गर्पाछेडासम्मको पाँच किलोमिटर पदमार्ग निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले जानकारी दिए ।

    पदमार्गसँग विभिन्न ठाउँमा काठेपुल निर्माण गरिएको बताउँदै आगामी दिनमा अन्य संरचना थप्दै जाने योजना रहेको उनको भनाइ छ ।


    प्रकाशित : शुक्रबार, भाद्र १३ २०८२०९:२८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार