२०८३, कार्तिक १५ गते आइतबार

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराह ताल

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराह ताल


  • मेरोभ्यूज
  • भाद्र १६, २०८२ सोमबार

  • आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराह ताल

     

    बागलुङ । बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराह ताल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।

    हरियाली खेतबारीले घेरिएको मनमोहक बराह ताल आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको हो ।

    बागलुङको पर्यटकीय गाउँका रूपमा नाम कमाएको भकुण्डेस्थित बराहतालमा युवायुवती घुम्न तथा भकुण्डेको शीरमा रहेको घरबास (होमस्टे)मा अर्गानिक परिकारका स्वाद लिन पुग्ने गरेका छन् ।

    बागलुङ बजारबाट पदयात्रामार्फत एक घण्टामा पुग्न सकिने बागलुङ नगरपालिका–१० स्थित बराह ताल पर्यटकीय पूर्वाधार निर्माण गरेपछि व्यवस्थित र आकर्षक बनेको स्थानीय सोमबहादुर थापा मगरले बताए ।

    साविकको जिल्ला विकास, अहिलेको सङ्घीय पर्यटन मन्त्रालय, प्रदेश मन्त्रालय र बागलुङ नगरपालिकाको करिब रु. ५० लाखमा यहाँ पूर्वाधार निर्माण भएका नगर कार्यालयले जनाएको छ ।

    अव्यवस्थित ताल वरपर व्यवस्थित पर्खाल, संरक्षण तथा रेलिङसहितको पदमार्ग निर्माण भएपछि बराह ताल मनमोहक देखिएको थापा मगरले उल्लेख गरे ।

    बराह तालमा पर्यटकको चहल-पहल सदाबहार एकैनासको भइरहने भन्दै उनले वर्षामा ताल थप आकर्षक देखिने बताए ।

    तालबाट देखिने धौलागिरि हिमालको छाँया र आँखै अघि देखिने बागलुङ बजारले पर्यटकलाई मोहित बनाउँदै आएको उनको भनाइ छ ।

    “वर्षामा केही पर्यटक घटेका छन्, बिदाको दिन पर्यटकको बढी चाप हुन्छ, यहाँका घरबास पर्यटकीय चहल-पहल बढ्न थालेपछि फष्टाउँदै गएका छन्”, थापाले भने, “अन्य जिल्लाबाट पर्यटकहरू गर्मी छल्न र जिल्लाका पर्यटकको बजारको कोलाहल छल्न यहाँ आउने गरेका छन्, नजिकैको गन्तव्य भएर होला पर्यटकको चहल-पहल भइरहन्छ ।”

    पहिला ताल व्यवस्थित नहुँदा ताल वरपर घाँसले भरिने गरेकोमा अहिले सुन्दर देखिन थालेको थापाले उल्लेख गरे । तालले दृश्यालोकनका साथै यो क्षेत्र ऐतिहासिक तथा धार्मिकरूपमा पनि महत्त्वपूर्ण रहेको जनाउँदै उनले बैकुण्ठ पूर्णिमामा यहाँ ठूलो मेला लाग्ने गरेको बताए ।

    बराह तालमा असोज र जेठको पूर्णिमामा भेँडाका साँढ बलि दिएर पूजा गर्ने परम्परा रहेको संविधानसभा सदस्य एवं स्थानीय अगुवा नरबहादुर थापाले बताए ।

    “ताल छेउमा रहेको बराह मन्दिरमा पूजापाठ गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । धार्मिक आस्था राख्नेदेखि प्रकृतिप्रेमी पर्यटकका लागि बराह ताल उपयुक्त गन्तव्य मानिन्छ”, उनले भने ।

    दुई हजार आठ सय २६ वर्गमिटरमा फैलिएको यो तालमा पर्यटन प्रवर्द्धनमार्फत स्थानीयको आयस्तर बढाउन रु. ५० लाखभन्दा बढी लगानी गरी पूर्वाधार निर्माण गरिएको संविधानसभा सदस्य थापाले जानकारी दिए ।

    एक हजार तीन सय मिटर उचाइमा रहेको ताल क्षेत्रमा पुग्न सदरमुकामबाट पैदलमार्फत एक घण्टामा पुग्न सकिन्छ ।

    भकुण्डेको घरबास, भ्यू-टावर र बलेवाको भैरवथान घुम्न आउने पर्यटकले तालको अवलोकन गर्ने गरेको उनले उल्लेख गरे ।

    बराह मन्दिर पुन:निर्माण, तालको क्षेत्र विस्तार, घेराबार, पर्खाल निर्माणलगायत काम सम्पन्न भइसकेका छन् ।

    बागलुङ बजारबाट तित्याङहुँदै यहाँ पुग्ने सडक अहिले स्तरोन्नती भइरहेकोले पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको संविधानसभा सदस्य थापाले बताए ।

    वि.सं. २०६८ मा जिल्लाकै पहिलो घरबास शुरु भएको भकुण्डे पर्यटन प्रवर्द्धनमा अघि बढ्दै गएको छ ।

    बराह तालहुँदै मुलाबारीमा रहेको भ्यू-टावरमा सूर्योदय, सूर्यास्त र हिमशृङ्खला अवलोकन गर्दै घरबासमा पर्यटक आउने गरेका अतिथि सत्कार घरबासका सञ्चालक याम थापाले जानकारी दिए ।

    बराह ताल जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा नजिकको पर्यटकीय गन्तव्य भएकोले आन्तरिक पर्यटकको आगमन बढी हुने गरेको उनको भनाइ छ ।


    प्रकाशित : सोमबार, भाद्र १६ २०८२०८:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार