२०८३, कार्तिक ११ गते बुधबार

निस्कोटका एक सय २५ घरपरिवारमा खानेपानीको पहुँच

निस्कोटका एक सय २५ घरपरिवारमा खानेपानीको पहुँच


  • मेरोभ्यूज
  • भाद्र २२, २०८२ आइतबार

  • निस्कोटका एक सय २५ घरपरिवारमा खानेपानीको पहुँच

     

    म्याग्दी । मालिका गाउँपालिका–१ निस्कोटमा 'एक घर, एक धारा'सहितको खानेपानीको पहुँच विस्तार भएको छ ।

    नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को आर्थिक एवं प्राविधिक सहयोग र स्थानीयहरूको श्रमदानबाट निर्माण भएको निस्कोट खानेपानी तथा स्वच्छता योजनामार्फत घर-घरमा धारा जडान गरेर खानेपानी वितरण भएको हो ।

    रु. ९४ लाखको लागतमा निर्माण भएको योजनाबाट निस्कोटका एक सय २५ घरपरिवार लाभान्वित भएका मालिका गाउँपालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले जानकारी दिए ।

    उपभोक्ताको घरघरका साथै विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन र सार्वजनिकस्थलमा थप सातवटा धारा जडान भएको छ ।

    टोटो बजाउनेमा रहेको मुहानबाट १६ किलोमिटर मुख्य र शाखा पाइप लाइन बनाएर १३ वटा ट्याङ्की, दुईवटा डिपिटीलगायतका संरचना बनाएर खानेपानी वितरण गरेको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर पुनले बताए ।

    ''३७ वर्षअघि निर्माण भएको खानेपानी योजनाका सार्वजनिक धाराबाट पालो कुरेर पानी वितरण गर्नुपर्ने समस्या थियो'', उनले भने, “धारा र कुवाबाट पानी ओसार्न हुने समयको बचत र झञ्झट हटेको छ ।”

    पुरानो आयोजनाका संरचना जीर्ण हुँदा खानेपानी आपूर्ति नियमित नहुने र पानी वितरण अव्यवस्थित थियो ।

    सार्वजनिक धारामा पानी नआउँदा उपभोक्ताले कुवा र खोल्साबाट गाग्री, ग्यालिन, ड्रम र बोत्तलमा पानी सोसार्ने गर्दथे ।

    खानेपानीका धारासँगै भाँडा सुकाउने चाङ निर्माण भएको छ । पानीको मितव्ययी र व्यवस्थित तथा दीर्घकालीन प्रयोगका लागि धारामा मिटर जडान गरेर शुल्क उठाउने व्यवस्था मिलाइएको छ ।

    खानेपानी योजना निर्माणका लागि प्रतिघर ९० दिनका दरले श्रमदान गरेका छन् ।

    घर-घरमा सफा र स्वच्छ खानेपानी आउन थालेपछि श्रमदानको दुःख भुलाएको उपभोक्ता तमबहादुर पुनले बताए ।

    नेवा संस्थाका प्राविधिक छमीराम शर्माका अनुसार नेवाको रु. ६४ लाख र उपभोक्ताको रु. ३० लाख बराबरको श्रमदानमा योजना निर्माण भएको हो ।

    नेवाको सहयोगमा यसअघि गत वर्ष मालिका गाउँपालिका–१ का अन्य टोलमा निर्माण भएको योजनाबाट ९६ घरपरिवार लाभान्वित भएका थिए ।


    प्रकाशित : आइतबार, भाद्र २२ २०८२०८:१५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार