लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले जनतामुखी र ऐतिहासिक उपलब्धिहरू हासिल गरे पनि प्रचार-प्रसारको कमजोरीका कारण त्यसको मूल्याङ्कन जनतासमक्ष पूर्णरूपमा पुग्न नसकेको बताएको छ ।
लमजुङको मध्य नेपाल नगरपालिका, भोर्लेटारमा माओवादी केन्द्र नगर कमिटीले आयोजना गरेको स्वागतसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, “हामीले धेरै काम गरेका छौं तर प्रचारमा कमी भयो । अरूले कुहेको पिठो बेचिरहेका छन् । त्यसैले हामीले गरेका काम जनतालाई भन्न र जनसँग सम्बन्ध मजबुत बनाउन जनतामाझ आएका हौं ।”
उनले हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग अभियानका क्रममा यसअघिका अनुभव र अनुभूतिसमेत साट्नुभयो । उनले मध्यपहाडी लोकमार्ग अभियान जनतासँगको प्रत्यक्ष संवादको अवसर बनेको उल्लेख गर्दै भने, “मध्यपहाडी लोकमार्गको अभियान बैतडीबाट शुरु गर्दा लमजुङ आइपुग्दा तराई–मधेस र स्थगित अभियानमा जस्तो सहभागिता नहोला भन्ने लागेको थियो । तर यहाँको विशाल जनसहभागिताले उत्साहित बनाएको छ ।”
अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको पहिलो सरकारमा मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग), हुलाकी मार्ग, उत्तर–दक्षिण करिडोर निर्माण र गरिब किसानको ऋण मिनाहाजस्ता महत्वपूर्ण काम गरिएको स्मरण गरे ।
दोस्रो कार्यकालमा संविधान निर्माण, लोडसेडिङ अन्त्य र तराई–मधेस आन्दोलनलाई सम्बोधन गर्दै शान्ति र स्थायित्वको जग बसाइएको बताए ।
तेस्रो कार्यकालमा सुशासन अभियान सञ्चालन, मिटरब्याज पीडितलाई न्याय दिने पहल, विदेशमा रहेका नेपालीलाई सामाजिक न्यायको दायरामा ल्याउने, जलवायु न्यायको मुद्दा अन्तरराष्ट्रियस्तरमा उठाउने, भारत र बंगलादेशसँग विद्युत व्यापार सम्झौता गर्ने र चीनसँग १४ वटा नाका खोल्नेजस्ता काम सम्पन्न भएको उनले उल्लेख गरे ।
अध्यक्ष दाहालले जोड दिँदै, “हामीले देश र जनताको हितका लागि गरेका कामलाई अरूले नकार्ने प्रयास गरेका छन् । तर जनताको सचेत सहभागिताले त्यो भ्रम चिर्न सक्छ । यो अभियानले जनतालाई सत्यतथ्यमा जोड्ने र भविष्यको बाटो देखाउने विश्वास मैले लिएको छु ।”
यसअघि लमजुङको रामबजारमा अध्यक्ष प्रचण्डलाई बाजागाजासहित भव्य स्वागत गरिएको थियो । अभियानमार्फत जनतामाझ प्रत्यक्ष संवाद गर्दै अगाडि बढिरहेका उनले हरेक सम्बोधनमा जनताको अपार समर्थनले आफूलाई नयाँ ऊर्जा दिएको र अब देशको वास्तविक शक्ति माओवादी केन्द्र बन्ने विश्वास व्यक्त गरेको छ ।

