२०८३, कार्तिक १५ गते आइतबार

एउटै किसानले फलाउँछन् दैनिक पाच सय केजी बोडी

एउटै किसानले फलाउँछन् दैनिक पाच सय केजी बोडी


  • मेरोभ्यूज
  • भाद्र २६, २०८२ बिहीबार

  • एउटै किसानले फलाउँछन् दैनिक पाच सय केजी बोडी

     

    झापा । विर्तामोड नगरपालिका–७ का युवा प्रदिप खनाललाई एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पुर्याउन भ्याइनभ्याइ छ ।

    उनको एकल लगानी रहेको 'हाम्रो कृषि फार्म'बाट दैनिक पाच सय किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ ।

    उत्पादित सबै बोडी विर्तामोड नगरपालिकाले प्रवर्द्धन गरेको सुपथ मूल्यका तरकारी पसलमा बिक्री हुने गरेको छ ।

    भाडामा लिएको ४५ बिगाहा जग्गामध्ये १६ कट्ठामा खनालले बोडीखेती गरेको हो ।

    हाल आठ कट्ठामा फल लाग्न बाँकी नै र आठ कट्ठामा लह-लह फलेको बोडी छ ।

    सात वर्षअघि ठेक्कापट्टाको काम छाडेर एक कट्ठाबाट तरकारीखेती शुरु गरेका खनालले कृषि फार्म दर्ता गरेर व्यावसायिकरूपमा त्यसको विस्तार गरेको हो ।

    उनले बोटबाट टिपेको बोडी नगरपालिकाका सातवटा सुपथ मूल्यका पसलमा बिक्रीका लागि लैजाने गरिएको बताए ।

    “पसलमा नगरपालिकाले तोकेको समर्थन मूल्यमा बिक्री हुने गरेको छ ।

    यदि बजार भाउ खस्किएर कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता आयो भने नगरपालिकाले समर्थन मूल्य बराबरको रकम तिरिदिने भएकोले बजारको कुनै चिन्ता गर्नुपरेको छैन”, खनालले जानकारी दिए ।

    हाल प्रतिकेजी बोडी रु. ३० देखि रु. एक सयसम्ममा बिक्री भइरहेको छ ।

    कहिलेकाहीँ भने मूल्यमा उतारचढाव आउने गरेको उनले बताए । नगरपालिकाले तरकारीमा विषादीको अवशेष जाँच गरेर मात्र पसलमा बिक्रीका लागि अनुमति दिने गरेको छ ।

    वार्षिक एक करोड मुनाफा

    खनालको कृषि फार्ममा २० बिगाहामा धानखेती छ भने पाँच बिगाहामा विभिन्न प्रकारका तरकारी छन् । जसमध्ये १६ कट्ठामा बोडी, १५ बिगाहामा अम्बक, बयरलगायतका फलफूलखेती र चार बिगाहामा लौका, भिन्डी तथा खुर्सानीखेती गर्ने गरेको उनले जानकारी दिए ।

    धान, तरकारी र फलफूलखेतीबाट वार्षिक रु. एक करोड मुनाफा हुने खनालको दाबी छ । “प्रत्येक वर्ष आम्दानी बढ्दै गएको छ । मैले मात्र आम्दानी गरेको होइन । दर्जनौँ व्यक्तिले रोजगारी पाएका छन् ।

    उपभोक्ताले पनि स्वदेशी र ताजा तरकारी खान पाएको छ । यस वर्ष वार्षिक रु. दुई करोडसम्म तरकारी बिक्री हुने अपेक्षा गरेको छु”, खनालले भने ।

    उनले शुरुमा कृषिबाट यति धेरै आम्दानी हुन्छ होला भनेर विश्वास नगरेको सुनाए । “एउटै अम्बक आधा केजीसम्मको फल्न थालेको छ । हाल आफ्नै देशमा व्यावसायिक कृषि कर्म गरेर ठिकै गरेछु भन्ने लागेको छ । फार्ममा २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने दर्जनौँले मौसमअनुसारको खुद्रा काम पाउने गरेका छन्”, खनालको भनाइ छ ।

    विर्तामोड नगरपालिकाले नगरलाई तरकारी र फलफूलमा आत्मनिर्भर बनाउन 'पारिको होइन वारिको' भन्ने अभियान नै सञ्चालन गरिरहेको छ ।

    नगरको कृषि शाखाका प्रमुख राजेन्द्रप्रसाद कडरिया स्थानीय तरकारी उत्पादक कृषकहरु अभियानमा जोडिएको र भारतबाट तरकारीको आयात प्रतिस्थापन गर्न अभियानले मद्दत पुर्याइरहेको बताए ।

    उनले भने, “नगरपालिकाले बोडीको समर्थन मूल्य प्रतिकेजी रु. ३० तोकेको छ । उक्त मूल्यमा बिक्री नभए तौलको आधारमा घाटा पूर्ति रकम उपलब्ध गराउँदै आएका छौँ । यसमा मात्रै होइन अन्य उत्पादनमा पनि कृषकलाई प्रोत्साहन गर्ने हाम्रो नीति छ ।”

    -----


    प्रकाशित : बिहीबार , भाद्र २६ २०८२०८:४७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार