२०८३, कार्तिक १५ गते आइतबार

घट्दै कोदोखेती, बाझिँदै बारी

घट्दै कोदोखेती, बाझिँदै बारी


  • मेरोभ्यूज
  • भाद्र २६, २०८२ बिहीबार

  • घट्दै कोदोखेती, बाझिँदै बारी

     

    पाल्पा । एक दश अघिसम्म यहाँका गामीण भेगका सबैजसो ठाउँमा कोदो लगाइन्थ्यो । बारीमा कोदो राम्रै उब्जनी हुन्थ्यो । तर अहिले गाउँमा यसको बीउसम्म पनि पाउन मुस्किल पर्न थालेको छ ।

    ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले बाँझिँदै गएका छन् । कोदोको महत्व थाहा नहुँदा यसको खेतीप्रतिको आकर्षण घट्दो छ ।

    दश वर्षअघिसम्म यहाँको बगनासकाली गाउँपालिका खानीगाउँका कमल गैरेको बारीमा झण्डै तीन मुरी कोदो फल्थ्यो । काम गर्ने समस्या भएपछि पछिल्ला वर्षमा कोदो लगाउन उनले छाडेको छ ।

    गैरेले कोदोखेती गर्दै आएको जग्गा वनमारा र बोकेझारले भरिएको छ । छोराहरू जागिरको सिलसिलामा शहरमा भएकोले घरमा काम गर्ने कोही नभएको गैरेले बताए ।

    रैनादेवी छहराका मानबहादुर कार्की पनि धेरै कोदो उत्पादन गर्ने किसान थिए । तर उनले पनि पछिल्लो वर्षमा लगाउन छोडेको छ । केही वर्षअघिसम्म पनि बगनासकाली, रैनादेवी छहरालगायत जिल्लाका अन्य किसानको मुख्य बाली कोदो थियो ।

    युवाहरु विदेश र शहरतिर, गाउँमा बूढाबुढी र केटाकेटी मात्र हुँदा पनि खेती गर्नेको सङ्ख्या हरेक वर्ष घट्दो छ ।

    अर्कोतर्फ यस्ता रैथानेबाली प्रवर्द्धनमा सरकारी अनुदान नहुँदा पनि किसानको आर्षकण हुन सकेको छैन् । स्थानीय, प्रदेश र सङ्घीय सरकारले रैथानेबाली प्रवर्द्धन गर्न भन्दै कार्यक्रम ल्याए पनि कागजमै सीमित हुँदा जिल्लामा कोदोखेती विस्तार हुन सकेको छैन् ।

    यहाँको दुई वर्षको तथ्याङ्क हेर्ने हो भने पनि कोदोखेती गर्ने क्षेत्रफल घट्दै गएको पाइन्छ ।

    यहाँ आर्थिक वर्ष २०८०/०८१ मा दुई हजार तीन सय ६३ हेक्टर क्षेत्रफलमा कोदोखेती भएको थियो । जुन आर्थिक वर्ष २०८१/०८२ मा आएर दुई हजार तीन सय ४९ हेक्टर क्षेत्रफलमा झरेको कृषि ज्ञान केन्द्र पाल्पाका प्राविधिक सुरज पाण्डेयले जानकारी दिए ।

    उनका अनुसार किसान सुन्तला जातका फलफूलतर्फ आकर्षितहुँदै गएपछि कोदोखेती हुने क्षेत्रफल घट्दै गएको हो ।

    कोदो हुने बारीमा अहिले फलफूल लगाउने गरिएको छ । क्षेत्रफल घट्दै गए पनि उत्पादनमा भने वृद्धि हुने गरेको प्राविधिक पाण्डेयले बताए ।

    जिल्लामा आर्थिक वर्ष २०८०/०८१ मा तीन हजार एक सय एक दशमलव ४२ मेट्रिक टन कोदो उत्पादन भएकोमा २०८१/०८२ मा आएर तीन हजार एक सय २४ दशमलव १७ मेट्रिक टन उत्पादन भएको छ ।

    अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्ष ० दशमलव ७३ प्रतिशतले उत्पादनमा वृद्धि भएको प्राविधिक पाण्डेयले बताए ।

    उनका अनुसार अघिल्लो वर्ष एक दशमलव ३१ मेट्रिक टनप्रति हेक्टर र गत वर्ष एक दशमलव ३३ मेट्रिक टनप्रति हेक्टर उत्पादकत्व भएको हो ।

    कोदोखेती गर्ने केही किसानले प्राविधिक ज्ञान हासिल गरेकै कारण उत्पादनमा वृद्धि भएको प्राविधिक पाण्डेयको भनाइ छ ।

    विशेष गरी जिल्लाका निस्दी, पूर्वखोला, बगनासकाली, रैनादेवी छहरा, रिब्दीकोट गाउँपालिकाका विभिन्न ठाउँमा कोदोखेती हुने गरेको छ ।

    परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकैमा घुसुवा बालीका रुपमा लगाइने कोदो प्रायःजसो जिल्लाका सबै गाउँ बस्तीमा हुन्थ्यो तर आजभोलि सबै हराए ।

    खाद्यान्नका लागि आटो, ढिँडो, रोटीका रुपमा प्रयोग गरिथ्यो तर आजभोलि त्यही कोदोलाई मदिरा बनाउन प्रयोग गरेका कारण बीउ नै हराउने अवस्थामा पुगेको छ । पछिल्ला वर्षमा कोदोखेती हराउँदै जान थालेपछि सरकारले हरेक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउन थालेको छ ।

    -----


    प्रकाशित : बिहीबार , भाद्र २६ २०८२०८:५८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार