२०८३, कार्तिक १५ गते आइतबार

‘बाख्रापालनबाट मिल्यो सफलता’

‘बाख्रापालनबाट मिल्यो सफलता’


  • मेरोभ्यूज
  • भाद्र २६, २०८२ बिहीबार

  • ‘बाख्रापालनबाट मिल्यो सफलता’

     

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफल डाँडाका जगबहादुर फगामीले वैदेशिक रोजगारबाट फर्किएर शुरु गरेको बाख्रापालनबाट आत्मनिर्भर बनेको छ ।

    रोजगारको सिलसिलामा तीन वर्ष मलेसियामा काम गरेका फगामीले कम्पनीले पारिश्रमिक नदिएर धोका दिएपछि गाउँ फर्किएर बाख्रापालन शुरु गरेका थिए ।

    ''विदेशको ठक्करले गाउँ फर्किएर एउटा बाख्रा किनेर खेती किसानी गरेर परिवार चलाउनथालेको थिए, बाख्राले जुम्ल्याह पाठापाठी जन्माउन थालेपछि बाख्राको सङ्ख्या बढ्दै गयो, पछि राम्चे बाबा समूहको ५३ वटा बाख्रा रु. दुई लाखमा खरिद गरेर बाख्र पालनलाई व्यावसायिक बनाएको हुँ,” फगामीले भने ।

    उनी अहिले गाउँमै उपलब्ध स्रोत, श्रम र सिपको सदुपयोग गर्दै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरणको पात्र बनेको छ ।

    उनले विगत छ वर्षदेखि बाख्रापालनलाई व्यवस्थित र व्यावसायिक बनाएको हो । फगामीले सञ्चालन गरेको 'सुतारे एकीकृत कृषि तथा पशुपक्षी फर्म'मा अहिले एक सय ५० वटा बाख्रा छन् । फर्ममा रहेका ४० वटा माउ बाख्रा व्याउने छन् ।

    चाडपर्व र विभिन्न पूजाआजामा खसीबोका र पाठापाठीको बिक्री हुने गरेको छ । उत्पादन भएका खसीबोका गोठ र खोरबाटै बिक्री हुने गरेको बाख्रा पालक कृषक फगामीले जानकारी दिए ।

    उनकाअनुसार, बाख्रापालनबाट मासिक रु. ४० हजारदेखि रु. ५० हजारसम्म आम्दानी हुने गरेको छ ।

    फर्ममा फगामी दम्पतीका साथै छोराबुहारीले बाख्राको रेखदेख र स्याहार गर्दै आएका छन् भने चरन क्षेत्रमा लैजानका लागि एक जनालाई रोजगारीसमेत दिएको छ ।

    हिउँद याममा बेसीँका फाँटमा खेतवारीमा घाँस खुवाएर मल बनाउने बाख्रालाई जेठ लागेपछि भने ढरुवा, धौलापारा, साँधीखर्कलगायतका लेकाली क्षेत्रका वनजङ्गलमा चरनका लागि लैजाने गरिएको छ ।

    बाख्रापालनबाट स्वरोजगार र आत्मनिर्भर बनेका फगामीले बाख्रापालनसँगै भेंडापालन गर्ने योजनासमेत बनाएको छ ।

    बाख्रापालनलाई थप व्यवसायिक बनाउनका लागि अहिले खोरको क्षमता विस्तार गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा अन्नपूर्ण गाउँपालिकाले पशुपक्षीको लागि गोठखोर निर्माण योजनाबाट उपलब्ध गराएको अनुदानबाट करिब तीन सय बाख्रापालन गर्न सक्ने क्षमताको खोर निर्माण गरेको छ ।

    गाउँपालिकाबाट प्राप्त भएको अनुदान रु. एक लाख ६६ हजार रकममा आफूहरुले श्रमदान र नगद साझेदारी गरी करिब साढे तीन लाख लगानीमा व्यवस्थित खोर निर्माण गरेको बाख्रापालक किसान फगामीका छोरा राजु फगामीले जानकारी दिए ।

    छोटो समयमै हुर्कने र अन्य पशुपक्षीको तुलनामा नगद आम्दानीसमेत बढी हुने भएकोले सिङ्गो परिवारले नै बाख्रापालनलाई अङ्गालेका छन् । विभिन्न समयमा बाख्रामा आउने रोगको पहिचान गरी उपचार गर्न नसक्दा धेरै क्षति व्यहोरेका फगामी परिवारले हार नखाएर बाख्रापालनलाई निरन्तरता दिएकै कारण अहिले सफलता प्राप्त गरेका हुन् ।

    आलुसँगै अन्नबालीको खेती किसानीसमेत गर्दै आए पनि घरपरिवारको अन्य आम्दानीको स्रोत नहुँदासमेत बाख्रापालनबाटै भएको आम्दानीबाट परिवारले घरखर्च जुटाउँदै आएको फगामीले जनाए ।

    उत्पादन भएका खसीबोका र पाठापाठीको उचित बजारको सुनिश्चित हुन सकेमा बाख्रापालनलाई अझैँ व्यावसायिक बनाउने फगामी परिवारको योजना रहेको छ ।

    -----


    प्रकाशित : बिहीबार , भाद्र २६ २०८२०९:०७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार