२०८३, कार्तिक १५ गते आइतबार

अकबरे खुर्सानीखेती गरेका किसानलाई बजारको चिन्ता

अकबरे खुर्सानीखेती गरेका किसानलाई बजारको चिन्ता


  • मेरोभ्यूज
  • भाद्र २६, २०८२ बिहीबार

  • अकबरे खुर्सानीखेती गरेका किसानलाई बजारको चिन्ता

     

    म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ शिवाङका ओमराज मगर बारीमा लहलह फलेको अकबरे खुर्सानी कहाँ लगेर बेच्ने भन्ने चिन्तामा छन् ।

    ओमराजले सञ्चालन गरेको धौलागिरि कृषि तथा पशुपक्षी फार्मको छ रोपनी क्षेत्रफलमा फलेको अकबरे खुर्सानी पाक्न थालेपछि उनी बजारको खोजीमा छन् ।

    म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–९ बनौका निर्मल पुन पनि फार्ममा फलेको अकबर खुर्सानी बेच्न बेनी, बागलुङ र कुश्मा बजारमा भौतारिएको छ ।

    शिवाङका ओमराज र बनौका निर्मलको जस्तै बजार अभाव अकबरे खुर्सानीखेती गरेका किसानको साझा समस्या बनेको छ । बनौँ, शिवाङ र बेनी नगरपालिका–३ भकिम्लीमा अकबर खुर्सानीको व्यावसायिक खेती भएको छ ।

    “गत वर्ष परीक्षणका लागि लगाएको ९० वटा बिरुवाको अकबरे बेचेर रु. ३० हजार आम्दानी भएपछि यसपाली छ रोपनीमा १२ हजार बिरुवा लगाएको छु”, उनले भने, “स्थानीय बजार सानो छ । खपत थोरै हुन्छ । धेरै खपत हुने ठूला शहरका व्यापारी र अचार उद्योग सञ्चालकसँग सम्पर्क नहुँदा समस्या भएको छ ।”

    यस क्षेत्रमा यसअघि व्यावसायिक अकबरे खुर्सानीखेती भएका थिएन । घरायसी उपभोगका लागि मात्र अकबरे खुर्सानीखेती गरेका थिए । बेनी, कुश्मा, बागलुङ र जोमसोमको बजारमा तराई र पूर्वी पहाडि जिल्लाबाट अकबरे खुर्सानी आयात हुने गर्छ । आयातित खुर्सानीसँग प्रतिस्पर्धा गर्न नसक्नुपर्ने अर्को समस्या रहेको छ ।

    स्थानीय किसानहरूले रासायनिक मल र विषादीको विकल्पमा जैविक विधिबाट खुर्सानीखेती गरेका छन् । रोग र किराबाट बचाउन खिर्राको पात, तितेपाती, गाईभैँसीको गहुँतको प्रयोगका साथै झार उम्रिन नदिन 'मल्चिङ' प्रविधि प्रयोग गरेका छन् ।

    खुर्सानीको बोटभन्दा अन्य भागको जमिनमा झार पलाउन नदिन प्लास्टिकले छोपेर मल्चिङ गरिएको हो । प्लास्टिकले झार उम्रन नदिने र बिरुवाले पर्याप्त पोषकतत्व पाएर उत्पादन राम्रो हुने किसान ओमराजले बताए ।

    स्थानीय बजारमा अकबरे खुर्सानीको मूल्य प्रतिकिलो रु. दुई सय ५० देखि रु. तीन सय छ । दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राति १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाड र तराईको भूगोलमा अकबरे खुर्सानीखेती गर्न सकिन्छ । तरकारी, दाल, अचारमा ताजा खुर्सानीको प्रयोग हुन्छ ।

    जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले अकबरे खुर्सानीको बजारीकरणका लागि स्थानीय व्यापारीका साथै पोखरा, काठमाडौँका बजार र अचार उद्योगीलाई कृषकको सम्पर्कमा ल्याउन पहल गरिरहेको बताए ।

    खुर्सानीखेतीका लागि मल्चिङ, खनजोत गर्ने उपकरण र रोगकिरा नियन्त्रणका लागि परामर्शका साथै प्राविधिक सहयोग गरेको उनले बताए ।

    -----


    प्रकाशित : बिहीबार , भाद्र २६ २०८२०९:०९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार