२०८३, कार्तिक १३ गते शुक्रबार

घरजग्गामा महिलाको स्वामित्व बढ्यो

घरजग्गामा महिलाको स्वामित्व बढ्यो


  • मेरोभ्यूज
  • आश्विन ४, २०८२ शनिबार

  • घरजग्गामा महिलाको स्वामित्व बढ्यो

     

    म्याग्दी । यहाँका महिलाका घरजग्गामा स्वामित्व बढ्नथालेको छ । सरकारको अनुकूल नीति, सामाजिक संरचनामा आएको परिवर्तन र सशक्तिकरणसँगै घरजग्गामा महिलाको स्वामित्व बढ्न थालेको हो ।

    सरकारले महिला, दलित तथा जनजाति, सहिद परिवार र अपाङ्गको नाममा घरजग्गा खरिद गर्दा लाग्ने रजिष्ट्रेशन दस्तुरमा २५ प्रतिशत राजश्व छूट दिने गरेको छ ।

    आर्थिक वर्ष २०८१/०८२ मा जिल्ला मालपोत कार्यालय म्याग्दीबाट आठ सय ८१ लिखत पारित भएकोमा एक सय ८० महिलाको नाममा छ ।

    घरजग्गा खरिद गरेका महिलाले गत वर्ष रजिष्ट्रेशन शूल्कमा रु. २४ लाख ४८ हजार पाच सय ३० छुट पाएको कार्यालयका प्रमुख साधनाकुमारी श्रेष्ठले जानकारी दिए । आर्थिक वर्ष २०८०/०८१ मा दुई सय ४३ महिलाले घरजग्गा आफ्नो स्वामित्वमा बनाएका थिए ।

    महिलाको आर्थिक स्रोतमा पहुँच बढ्नु, चेतनाको विकास, सशक्तिकरण, पुरुष विदेश गएकोले घरको नेतृत्व महिलाले गर्नु र सरकारले दिने छूट सुविधाका कारण महिलाको नाममा घरजग्गाको स्वामित्व बढेको मालपोत अधिकृत श्रेष्ठले बताइन ।

    गत वर्ष ४१ जना दलित तथा जनजाति, एक जना अपाङ्ग र १२ जना अन्य वर्गकाले घरजग्गा खरिदका लागि छूट पाएका थिए । सबै लक्षित समुदायका तीन सय ३४ जनाले रजिष्ट्रेशन शूल्कमा रु. ३१ लाख ६० हजार आठ सय ८६ छुट पाएका छन् ।

    राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार कूल एक लाख सात हजार जनसङ्ख्या रहेको जिल्लामा महिला जग्गाधनी नौ दशमलब सात प्रतिशत छन् । ११ दशमलब आठ प्रतिशत महिलाको नाममा घरजग्गा दुवै र दुई दशमलब तीन प्रतिशतको नाममा घर मात्रै छ । कूल जनसङ्ख्यामध्ये ५१ दशमलब तीन प्रतिशत महिला र ४८ दशमलब सात प्रतिशत पुरुष छन् ।

    यसैगरी घरजग्गा दृष्टिबन्धक राखेर बैङ्क, वित्तीय र सहकारी संस्थाबाट ऋण लिनेको सङ्ख्या पनि उल्लेख्य रहेको मालपोत कार्यालय म्याग्दीका नायव सुब्बा कमलप्रसाद मरासिनीले बताए ।

    आर्थिक वर्ष २०८१/०८२ मा नौ सय १६ जनाले घरजग्गा रोक्का र एक हजार चार सय १५ वटा फुकुवा गरेका छन् ।

    आर्थिक वर्ष २०८०/०८१ मा आठ सय ५७ जनाले घरजग्गा धितो राखेर बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएका र एक हजार एक सय ६९ जनाले रोक्का राखेको घरजग्गा फुकुवा गरेका थिए ।

    बैङ्क, वित्तीय र सहकारी संस्थामा घरजग्गा धितो राखेर ब्यापार ब्यवसाय, वैदेशिक रोजगारी, शिक्षा, पशुपालन, कृषिमा लगानी गर्नेलाई सजिलो भएको छ ।

    राजश्व सङ्कलन उच्च

    आर्थिक वर्ष २०८१/०८२ मा मालपोत कार्यालय म्याग्दीले पछिल्लो सात वर्ष यताकै धेरै रु. पाँच करोड ८१ लाख पाँच हजार नौ सय ११ राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा रु. चार करोड ११ लाख १३ हजार सात सय ३२, २०७९/०८० मा रु. चार करोड ६८ लाख २१ हजार दुई राजश्व सङ्कलन भएको थियो ।

    कोरोना कालमा घटेको घरजग्गा किनबेच विस्तारै लयमा फर्किन थालेपछि राजश्व सङ्कलनमा सुधार भएको मालपोत अधिकृत श्रेष्ठको भनाइ छ ।

    आर्थिक वर्ष २०७८/०७९ मा रु. पाँच करोड चार लाख ८४ हजार नौ सय दस, २०७७/०७८ रु. पाँच करोड ११ लाख तीन हजार छ सय र २०७६/०७७ मा रु. तीन करोड २९ लाख ४३ हजार ८० राजश्व सङ्कलन भएको थियो ।

    गत आर्थिक वर्षमा रजिष्ट्रेशन शूल्क वापत रु. दुई करोड आठ लाख ८६ हजार दुई सय ७२, पूँजीगत लाभकर शीर्षकमा रु. दुई करोड ३१ लाख ५५ हजार चार सय ४०, न्यायिक दस्तुर, दण्ड जरिवाना, रोक्का वापत रु. एक करोड ३९ लाख ८३ हजार सात सय ५६ र सेवाशूल्क र प्रशासनिक दस्तुर शीर्षकमा रु. ८० हजार चार सय ४३ राजश्व सङ्कलन भएको छ ।


    प्रकाशित : शनिबार, आश्विन ४ २०८२०१:३५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार