भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–१० साम्पाङका वडाध्यक्ष प्रेमदोर्ची शेर्पा व्यावसायिक जडीबुटीखेतीमा उदाहरणीय छन् ।
उनले जनप्रतिनिधि भएर जनताको सेवासँगै जडीबुटीखेती गर्दै आएको छ । थोरै समय दिएर पनि जडीबुटीको बिक्रीबाट वार्षिक रु. पाँचदेखि सात लाखसम्म आम्दानी गर्दै आएको शेर्पाले जानकारी दिए ।
आफ्नो बहुउद्देश्यीय जडीबुटी नर्सरी केन्द्रमा अहिले पनि ६० ड्याङमा विभिन्न जातका जडीबुटीका बिरुवा रहेको उनको भनाइ छ ।
आफ्नो घर भएको स्थान तीनतलेमा २२ वर्ष अघिबाट चिराइतो, सतुवा, लोठसल्ला, सेतक चिनी, सिमखुदोलगायतको खेती गरिरहेको वडाध्यक्ष शेर्पाले जनकारी दिए ।
जनताको सेवा पश्चात बचेको समयलाई जडीबुटी खेतीमा लगाउने गरेको उनको भनाइ छ ।
“जनताको सेवाबाट बचेको समयलाई जडीबुटी खेतीमा लगाउने गर्छु” वडाध्यक्ष शेर्पाले भने, “जडीबुटीबाट राम्रो आम्दानी गरिरहेको छु । गत वर्षबाट १२ मन (एक मनमा ४० के.जि.) चिराइतो बेचेँ । अन्यबालीको तुलनामा जडीबुटीबाट दोब्बरको हाराहारीमा आम्दानी लिन सकिन्छ ।”
आर्थिकरुपमा सक्षम बन्नको लागि राजनीतिसँगै कृषि उद्यममा जोडिएको वडाध्यक्ष शेर्पाले बताए ।
फर्मबाट सतुवाको बिरुवा, चिराइतोको बोट बीउ, पात, ढुट्टोलगायत बिक्री गर्दै आएको उनको भनाइ छ ।
तीनतले क्षेत्रमा जडीबुटीको लागि उपयुक्त भूगोल रहेकोले राम्रो आम्दानी लिन सहज भएको उनको भनाइ छ ।
“उत्पादन भएको जडीबुटी बिक्रीको लागि समस्या छैन” उनले भने, “जडीबुटी खरिदको लागि घरमा नै ठेकेदार आउछन् । हाम्रो क्षेत्रका प्रायः सबै स्थानीयले जडीबुटीको खेती गरिरहेका छन् । औषत यहाँका एक किसानले वार्षिकरुपमा रु. दुई लाखदेखि दस लाखसम्मको जडीबुटी बिक्री गर्दछन् ।”
पराम्परात बालीभन्दा जडीबुटी खेतीबाट राम्रो आम्दानी हुने शेर्पाले अनुभव सुनाए । रु. दस हजारको अन्यबाली उत्पादन हुने जमिनमा जडीबुटी खेतीबाट रु. ५० हजारसम्म आम्दनी लिन सकिने उनको भनाइ छ ।
आफूले सिकेको सिपलाई जडीबुटीमा लागेका नवआगन्तुकलाई बाँड्ने गरेको उनको भनाइ छ । वडाको तर्फबाट पनि जडीबुटी खेतीमा लाग्नेहरुका लागि प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ ।
आफ्नो फर्ममा उत्पादन भएको जडीबुटीको बिरुवा बाह्य जिल्लामासमेत निर्यात हुने गरेको शेर्पाले जानकारी दिए ।
“मसँग जडीबुटी खेतीसम्बन्धी राम्रो ज्ञान छ” उनले भने, “आफूले सिकेको सिपलाई स्थानीयलाई पनि बाड्ने गरेको छु । म जनप्रतिनिधि भएपछि हाम्रो क्षेत्रलाई जडीबुटीको पकेट क्षेत्र घोषणा गर्न सफल भएका छौँ ।”
आफूले पहिलाबाट नै कृषि कर्म गरिरहेकोले जनप्रतिनिधि भएपछि पनि यसलाई निरन्तरता दिइरहेको उनको भनाइ छ ।
राजनीति सेवा भएकोले आर्थिकरुपमा सबल बन्नको लागि पेसा, व्यवसायमा लाग्न आवश्यक रहेको उनले सुनाए ।

