चितवन । भरतपुर महानगरपालिका–१३ स्थित बाटुली पोखरी जलचर घुँगीफोर गरुड (एसियन ओपनविल)का लागि प्रजनन् केन्द्रको रूपमा विकसित भएको छ । यहाँ घुँगीफोरले सयौँ चल्ला कोरलेका छन् ।
बाटुली पोखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा रहेको यो पोखरी वरपरका एक सय चारवटा रुखमा घुँगीफोरले चार सय ७८ वटा गुँड बनाएको समूहका अध्यक्ष कृष्णहरि प्रसाईँले जानकारी दिए । एउटै रुखमा दस वटासम्म गुँड छन् ।
“घुँगीफोरले सुक्खा रुखहरूमा गुँड बनाउने गर्छन् भने घुँगी तथा साना जलचर खाने गर्छन् । अध्यक्ष प्रसार्इँले भने, “हामीले अवलोकन गर्दा एक सय चारवटा रुखमध्ये केबल तीनवटामा मात्र हरियो रुखमा गुँड देखिएको छ, बाँकी सबै सुक्खा रुखमा छन् ।”
प्रजनन् याममा घुँगीफोरहरूको गतिविधि हेर्न पक्षी अवलोकनकर्ता र संरक्षणकर्मीहरू उत्साहका साथ आउने गरेका छन् । उनले थपे, “प्रजनन् अवधिमा पोखरी क्षेत्रमा डुङ्गाजस्ता पर्यटकीय गतिविधिहरू बन्द गरिएको छ, गुँडहरूमा असर नहोस् भनेर ।”
यस क्षेत्र पहिले ‘ठूलो घोल’को नामले चिनिन्थ्यो, जहाँको पानी राप्ती नदीमा मिसिन्थ्यो । तर वि.सं. २०६५ मा गङ्गानगर सिँचाइ आयोजना र सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा ड्याम निर्माण गरी पोखरीमा रूपान्तरण गरिएको हो ।
अहिले यो क्षेत्र केवल सिँचाइका लागि मात्र नभइ जैविक विविधताका लागि पनि महत्त्वपूर्ण बनेको छ ।
अध्यक्ष प्रसाईँका अनुसार, पहिले यहाँ जाडोयाममा साइबेरियन चरा देखिन्थे, तर अहिलेका वर्षहरूमा स्थायीरूपमा बसोबास गर्ने रैथाने पक्षीहरू देखा पर्न थालेका छन् । उनले भने, “सात वर्षयता घुँगीफोर यहाँ आउन थालेका हुन् ।”
घुँगीफोरले चैत–वैशाख महिनादेखि गुँड बनाउन शुरु गर्छन्, जेठमा फुल पार्छन् र भदौमा चल्ला कोरल्छन् । ठूला झुन्डमा रहने यिनले सामूहिकरूपमा गुँड बनाउने बानीले गर्दा अन्य चराहरूलाई आफ्नो उपस्थिति सहजै थाहा नहुने अध्यक्ष प्रसाईँले बताए ।
पहिले घुँगीफोरले बीसहजारी तालमा गुँड बनाउने गरेको तर त्यहाँका रुख कुहिएपछि नयाँ वासस्थानका रूपमा बाटुली पोखरीमा बस्न थालेको जानकारी दिँदै उनले भने, “घुँगीफोरले केवल सुक्खा रुखमा मात्र गुँड बनाउने भएकोले त्यस्ता रुख संरक्षण गर्नुपर्छ ।”

