२०८३, कार्तिक १५ गते आइतबार

‘इको म्युजियम’को प्रचार-प्रसार

‘इको म्युजियम’को प्रचार-प्रसार


  • मेरोभ्यूज
  • आश्विन २०, २०८२ सोमबार

  • ‘इको म्युजियम’को प्रचार-प्रसार

     

    मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका-३ स्थित पुथाङ विमानस्थल नजिकै पाखोमा ‘मुस्ताङ इको म्युजियम’ सञ्चालनमा छ ।

    जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) र राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संयुक्त लागत साझेदारीमा यहाँ सन् १९९७ मा ‘म्युजियम’ स्थापना गरिएको हो ।

    शुरुवाती चरणमा जाइकाले एक्याप जोमसोमलाई म्युजियमको स्वामित्व हस्तान्तरण गरेका थिए ।

    एक्यापले सञ्चालनको जिम्मा पुथाङ आमा बहुउद्देश्यीय सहकारी संस्थाको टोलीलाई जिम्मा दिएको थियो ।

    दुई तले भवनमा सञ्चालनमा रहेको यो म्युजियम वि.सं. २०७२ को महाभूकम्पले क्षति पुर्याएका थिए । त्यसपछि सात वर्षसम्म म्युजियम बन्द भयो ।

    पुनःनिर्माण हुन नसकेपछि एक्यापले वि.सं. २०७६ घरपझोङ गाउँपालिकालाई स्वामित्व हस्तान्तरण गर्यो । गाउँपालिकाले भौतिक संरचनालाई पुनःनिर्माण गरेका थिए ।

    तत्पश्चात् गाउँपालिकाले पुथाङ आमा बहुउद्देश्यीय सहकारी संस्थालाई नै वार्षिक रु. ५० हजार भाडा बुझाउने गरी जिम्मा दिएको छ । हाल संस्थाले दुईजना कर्मचारी राखेर म्युजियम सञ्चालन गरिरहेको त्यहाँ कार्यरत नारायणी गुरुङले जानकारी दिइन ।

    उचित व्यवस्थापनको अभावमा स्थापनाको २८ वर्ष पुग्दा म्युजियम ओझेलमा पर्न थालेको उनको भनाइ छ ।

    व्यवस्थापन र आवश्यक प्रचार-प्रसारको अभावमा अपेक्षा गरिएअनुरुप पर्यटक भित्र्याउन नसकिएको धेरैको गुनासो छ । बर्सेनी वैशाख, जेठ, असोज र कात्तिक महिनामा भने यहाँ आउने पर्यटकको सङ्ख्या केही बढ्ने गरेको गुरुङले जानकारी दिइन ।

    “केही प्रयास नभएका होइनन्, म्युजियमको विशेषता झल्काउने ‘ब्रोसर’ निर्माण गरी पर्यटन व्यवसायीलाई वितरण गरिएको छ । विभिन्न खोज अनुन्धानकर्ताका लागि उपयोग हुने खालका सामग्रीहरू व्यवस्थित गरिएका छन् ।

    म्युजियमभित्र मुस्ताङ जिल्लाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र भौगोलिक विशेषता झल्काउने सामग्रीहरु राखिएका छन्”, गुरुङले भनिन्, “यहाँको कृषि, पर्यटन, जैविक विविधतासँगै प्राकृतिक जडिबुटी, खनिज तथा वनस्पति, शालग्राम शिला, लाइब्रेरी, वेशभूषा र फोटो ग्यालरी राखिएका छन् । अब यसको व्यापक प्रचारको खाँचो छ ।”

    यसैगरी, यहाँ मुस्ताङको प्राचीन धर्मसंस्कृति झल्काउनेदेखि एकाइ कावागुचीका तस्बिर तथा अभिलेख सङ्ग्रहित गरिएका छन् । एउटै छातामा समग्र मुस्ताङ जिल्लाको विषयवस्तु थाहा पाउन सकिने भएकाले यहाँको इको म्युजियम मुस्ताङ भ्रमण गर्ने पर्यटकका लागि लाभदायी हुने स्थानीयहरू बताउँछन् ।

    आवश्यक प्रचार-प्रसार गर्न सके मुक्तिनाथ दर्शन गर्न आउने र उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकहरू इको म्युजियम हेर्न आउने अवस्था बन्ने छ ।

    पछिल्लो समय पुथाङ विमानस्थल नजिक दक्षिण/पश्चिमको १६ रोपनी भिरालो स्थामा रहेको यस इको म्युजियमसम्म जान गाउँपालिकाले रेलिङसहितको सिँढी, बाटो र स्वागत गेट निर्माण गरेको छ ।

    म्युजियमको परिसरमा स्याउलगायत सल्ला, धूपीका बिरुवा रोपण गरिएका छन् । पुथाङ विमानस्थलबाट पैदलै दस मिनेटमा पुग्न सकिने अवस्था छ ।


    प्रकाशित : सोमबार, आश्विन २० २०८२०८:२८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार