काठमाडौं । काठमाडौंको मैजुबहालमा रहेको ढुङ्गेधारास्थित बगलामुखी मन्दिर क्षेत्रलाई धार्मिक सहिष्णुताको अनुपम नमूनाका रूपमा विकास र विस्तार गर्ने अभियान शुरु गरेको छ ।
त्यहाँको जग्गा तथा पानीको स्रोत संरक्षण गरी ज्येष्ठ नागरिक चौतारो बनाउने सिलसिलामा स्थानीय सामाजिक एवं धर्मपरायण समुदायको सतप्रयासमा बगलामुखीसहित विभिन्न देवी-देवताका मन्दिर निर्माण गरेको छ ।
स्थानीय समाजसेवी टेकनाथ आचार्यको पहलमा केही वर्षअघि त्यहाँ तीन आना दुई दाम सार्वजनिक जमिनमा प्यागोडा शैलीमा तामाको छानासहितको बगलामुखी निर्माण गरेका थिए ।
करिब रु. चवालिस लाखको लागतमा मन्दिर निर्माण गरी वार्षिक धार्मिक अनुष्ठान तथा शोभा रथ यात्रा गरिँदै आएको मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद सिंखडाले जानकारी दिए ।
उक्त मन्दिर निर्माणमा धर्मानुरागी भक्तजनले आर्थिक सहयोग पुर्याएका थिए भने केही भक्तजनबाट मूर्ति स्थापनामा सहयोग भएको अध्यक्ष सिंखडाले जानकारी दिए ।
हिन्दू एवं बौद्ध परम्पराअनुसार मानिआएका थुप्रै देवी-देवता एवं बुद्धका मूर्ति स्थापना गरी परम्परा र जीवित संस्कृतिलाई जीवन्त राख्न रथा रोहण (रथ यात्रा)को थालनी गरेको मन्दिर संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ ।
बगलामुखीको ख्याती एवं मन्दिर परिसरमा प्रतिस्थापित देवी-देवता एवं बुद्धका मूर्तिका कारण दैनिक दर्शनार्थीको सङ्ख्या वृद्धि भइरहेको छ ।
मुलुकको जीवन्त संस्कृतिको जगेर्ना र जन्मभूमिप्रतिको कर्तव्य निर्वाह गर्न तथा असल संस्कारयुक्त परिवारको निर्माण गरी जीवनलाई सार्थक तुल्याउन उक्त धार्मिकस्थलबाट आम नागरिकलाई प्रेरणा मिल्ने विश्वास गरेको छ ।

