२०८३, कार्तिक १५ गते आइतबार

चिउरीको तेल पेल्न भ्याइनभ्याइ

चिउरीको तेल पेल्न भ्याइनभ्याइ


  • मेरोभ्यूज
  • आश्विन २३, २०८२ बिहीबार

  • चिउरीको तेल पेल्न भ्याइनभ्याइ

     

    दाङ । घोराही उपमहानरपालिका–१३ भिउँडरका स्थानीय कालु विकलाई आजभोलि चिउरीको तेल पेल्न भ्याइनभ्याइ भएको छ ।

    नेपालीहरूको महान् पर्व दसैँ–तिहार आउन थालेसँगै उनलाई चिउरी पेल्न भ्याइनभ्याइ भएको हो ।

    दसैँ र तिहारका लागि रोटी पकाउनेदेखि ‘सिजन’मा चिउरीको तेल बिक्री गरेर दुईचार पैसा कमाउनका लागि तेल पेल्न थालेको उनी बताउँछन् ।

    उमेरले ५६ वर्ष पुगेका विकले यस वर्षदेखि चिउरी पेल्नका लागि आधुनिक कोलसमेत निर्माण गरेको छ । त्यसका कारण आफूसँगै अन्य स्थानीयलाई समेत तेल पेल्न सहज भएको बताए ।

    “जङ्गलमा ठूला–ठूला रूख भएका कारण यस वर्ष धेरै चिउरी टिप्न सकेन, तर पनि एक सिजनमा रु. एक लाख ५० हजार बढी आम्दानी हुन्छ”, उनले भने, “चिउरीले गर्दा जीविकोपार्जनमा ठूलो भूमिका खेलेको छ ।”

    उनले यही तेलबाट दसैँ र तिहारका लागि रोटी पकाउनाका साथै तेल बिक्री गर्ने र त्यहाँबाट आएको पैसाले अन्य सामान किनमेल गर्न सहज हुने बताए ।

    उनले अहिले एक धार्नीलाई रु. आठ सयका दरले बिक्री गर्दै आएको छ ।

    अहिले आधुनिक कोलसमेत निर्माण गरेकोले विभिन्न ठाउँबाट तेल पेल्न आउने भएकाले झन् व्यस्तता बढेको उनको भनाइ छ ।

    परम्परागत कोलमा पेल्दा जनशक्ति र समय धेरै लाग्ने गरेकोमा हाल भने धेरै सजिलो भएको उनले बताए ।

    विकले अन्यबाट किलोको रु. दस तेल पेलेबापत लिने गरेको छ । उनले हाल दैनिक छ क्विन्टल चिउरीको तेल पेल्दै आएको छ ।

    उनले बिजुला कुट्ने मिलसमेत आफैँले राखेको छ । यसको तेल जैविक भएकोले स्वास्थ्यका लागि पनि फाइदाजनक रहेको उनी बताउँछन् ।

    घोराही–१३ तुरुन्तपुरका रामकली घर्तीले पनि चाडपर्वका लागि चिउरीको तेल पेलिसकेकि छिन ।

    “विशेष गरेर दसैँ, तिहारका लागि १५ धार्नी चिउरीको तेल जोहो गरेको छु, हरेक वर्षको सिजनमा चिउरीको बिजुला टिप्ने र पेल्ने गर्दै आएका छौँ, स्वास्थ्यका लागि पनि निकै फाइदा जनक रहेकोले यसैको तेल मन पर्छ”, घर्तीले भने, “त्यसैले चाडपर्वमा रोटी बनाउनका लागि मात्रै भए पनि चिउरीको तेल पेलेर राखेका छौँ ।”

    घरका लागि पुर्याएर पनि केही तेल बिक्री गर्ने गरेको उनी बताउँछिन् । जङ्गल गएर फल टिप्नुपर्ने, घर ल्याएर कुटेर र कोलमा पेलेर तेल निकाल्दा मेहनत धेरै लाग्ने गरेको उनको भनाइ छ ।

    स्थानीयस्तरमै आधुनिक कोल निर्माण भएसँगै यहाँ मौलाकोट, लापे, धानछरे, बगाले, डुम्बर गाउँलगायतबाट मानिस तेल पेल्न आउने गरेको उनको भनाइ छ ।

    चिउरीको तेल स्वास्थ्यका लागि फाइदासँगै पकाएका रोटी बास्ना आउने भएकोले यहाँका अधिकांश स्थानीयले दसैँ तथा तिहारका अवसरमा चिउरीको तेल पेल्ने गरेको घर्ती बताउँछिन् ।

    “अन्य समयमा तोरीको तेलले काम चलाए पनि चाडपर्वमा चिउरीको तेल खाने गर्दछन्”, उनले भने, “जसले गर्दा आजभोलि कहिलेकाहीँ चिउरीको तेल पेल्नलाई समेत पालो कुर्नुपर्छ ।”

    अधिकांश स्थानीयले चाडपर्वमा घरका लागि चिउरीको तेल पेल्ने गरे पनि ठूलो परिवार हुने र मेहनत गर्ने परिवारले चिउरीको तेल बेचेर राम्रो आम्दानी गर्ने गरेको उनी बताउँछिन् ।

    घोराही–१३ भिउँडरका डल्ली विकले दसैँ, तिहारसँगै वर्षदिनसम्म खान पुग्ने चिउरीको तेल जोहो गर्न थालेको बताइन् ।

    घरमा पुगेपछि बिक्री पनि गर्ने गरेको उनले बताइन् । पहिले परम्परागत कोलबाट तेल पेल्न समस्या भएको र हाल भने सहज भएको उनको भनाइ छ ।

    “चिउरीको तेल उत्पादनका लागि मेहनत गर्नुपर्छ, तर मानिसहरू सुविधा खोज्छन्”, उनले भने, “जसले गर्दा घर नजिकै भएको जङ्गलका फलहरू खेर जान्छन्, आजभोलि आफ्नोसँगै साथीहरूको तेल पेल्नका लागि बिहान ५ बजेदेखि राति ९ बजेसम्म पनि भ्याउँदैन ।”

    अर्का स्थानीय कृष्ण गुरुङले घोराही उपमहानगरपालिकाका पहाडी क्षेत्रका विभिन्न स्थानका स्थानीयले बर्सेनी जङ्गलबाट चिउरीको फल ल्याएर तेल पेल्ने गरेका छन् ।

    उनका अनुसार चिउरी चैतको अन्तिमतिर फूल खेल्न थाल्छ । चैतमा फुलेर असारदेखि साउन महिनासम्म चिउरी पाक्ने गर्दछ । त्यसरी पाकेर खसेको फल टिप्ने, सफासँग धुने र सुकाउने गरिन्छ । त्यसपछि तेल पेल्नका लागि तयार गर्न फललाई धुलो बनाउन कुट्ने र नरम बनाउनका लागि आगोमा पकाउने गरिन्छ ।

    आगोमा पकाएर नरम बनाएपछि त्यसलाई कोलमा हालेर पेलेर तेल निकाल्ने गरिएको उनको भनाइ छ ।


    प्रकाशित : बिहीबार , आश्विन २३ २०८२१०:११
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार